दोस्रो वाग्मती खेलकुद : २३ स्वर्णको छिनोफानो

कोल्हवी न्यूज
२०८० जेष्ठ ९, मंगलवार ०७:५३ गते

हेटौंडामा जारी दोस्रो वाग्मती प्रदेश खेलकुदअन्तर्गत सोमबार २३ स्वर्णको छिनोफानो भएको छ । एथलेटिक्समा ६, तेक्वान्दोमा ५ र आईटीएफ तेक्वान्दोमा १२ स्वर्णको टुंगो लागेको हो ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा एथलेटिक्सको १५ सय मिटर दौडमा सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले स्वर्ण जितेका छन् । विकेशले ४ मिनेट ३३ सेकेन्डबाट स्वर्ण जिते । महिलामा स्वर्ण जितेकी अस्मिताले ५ मिनेट ३२ सेकेन्ड लगाइन् । हाइजम्पमा दोलखाकी रोजिना कार्कीले स्वर्ण जितिन् । उनी १.३१ मिटर जम्प गरिन् । पुरुषतर्फ चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनी १.६९ मिटर उफ्रिए ।

महिलातर्फ रामेछापकी अनिता कार्कीले २१.९८ मिटर डिस्कस थ्रो फाल्दै स्वर्ण जितिन् । पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण जिते । उनले २७.७० मिटर फाले । तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौंका राम गोलले स्वर्ण जिते । उनले ६.६३३ स्कोर जोडे । महिलामा रामेछापकी सन्ध्या लामा ७.६६ अंकसाथ शीर्षस्थानमा रहिन् ।

हेटौंडा–४ स्थित हुप्रचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य जिते । पुरुष समूहगत पुम्सेमा काठमाडौं पहिलो, ललितपुर दोस्रो तथा नुवाकोट र रामेछाप तेस्रो स्थानमा रहे । महिला समूहगत पुम्से ललितपुरले स्वर्ण जित्यो । काठमाडौंले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।

ललितपुरकी सुस्मिता केसीले आईटीएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् । महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् । पुरुषमा काभ्रेका मनीष भैलाले ललितपुरका सागर श्रेष्ठलाई पछि पारेर स्वर्ण जिते । दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी सृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत जिते ।

पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सविना तामाङ शीर्ष दुई स्थानमा रहे । पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत जितेका थिए ।

करातेतर्फ काठमाडौंकी सन्जु देशारले महिला एकल कातामा स्वर्ण जितेकी छन् । सन्जुले फाइनलमा चितवनकी पुजिस्मा श्रेष्ठलाई पछि पारिन् । महिला टिम कातामा काठमाडौं पहिलो, चितवन दोस्रो तथा काभ्रे र ललितपुर तेस्रो स्थानमा रहे ।

पुरुष एकल कातामा काठमाडौंका रेहान जावेद पहिलो भए । उनले फाइनलमा काभ्रेका अन्जन यस्मालीमाथि जित पाए । पुरुष टिम कातामा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा चितवन र काभ्रेले कांस्य जिते ।इकान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*