जोगीको भेषमा हिँडिरहेका भारतीय नागरिकसहित दुई जना गाँजासहित पक्राउ
बारा, १३ कात्तिक । बारा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोस्ट इनर्वासिराबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीका क्रममा प्रसौनी गाउँपालिका–६ प्रस्टोकामा जोगीको भेषमा हिँडिरहेका भारतको पूर्वी चम्पारण जिल्ला, मोतिहारी, आदापुर थाना–४ काण्डाका ६५ वर्षीय शम्भु सहनीलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
प्रहरीले जाँच गर्दा उनको साथबाट ५०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। सोधपुछका क्रममा उक्त पदार्थ प्रसौनी गाउँपालिका–७ बलुवा टोलका ४५ वर्षीय अच्छेलाल सहनीको घरबाट खरिद गरी ल्याएको बताएपछि प्रहरीले अच्छेलालको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा अच्छेलालको घरबाट थप ८ किलो ७०० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई पक्राउ गरी लागुऔषध कसुरमा मुद्दा दर्ता गरेको छ। उनीहरूलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।










