जनकपुर र अयोध्यालाई प्रत्यक्ष रेल सेवाले जोड्ने तयारी अन्तिम चरणमा

कोल्हवी न्यूज
२०८३ कार्तिक १४, शुक्रबार १२:५२ गते

जनकपुरधाम । नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने लक्ष्यसहित तयारी भइरहेको पराजुलीले बताए । यद्यपि उद्घाटनको औपचारिक मिति भने तय भइसकेको छैन । प्रधानमन्त्री शाहले मंसिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी छ ।

रामायण सर्किटअन्तर्गत जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारी भइरहेको कम्पनीले जनाएको छ । रेल सेवा सञ्चालन भएपछि नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको छ ।

यसअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालन भएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्या रेलमार्फत जोडिँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले बताए ।

विशेष रेल सेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै दुवै देशका धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*