छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा फोहोर र विषाक्त रसायन नफाल्न प्रशासनको आग्रह
बारा । दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सिर्सिया नदीमा प्रदूषण नियन्त्रण गर्न उद्योग तथा औद्योगिक प्रतिष्ठानहरूलाई आग्रह गरेको छ। प्रशासनले नदीमा प्रदूषणजन्य फोहोरमैला तथा विषाक्त रसायन विसर्जन नगर्न सार्वजनिक सूचना जारी गरेको हो।
जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ३, ५, ७, ८, ९, १०, २३ र २४ को दक्षिणी क्षेत्र हुँदै बग्ने सिर्सिया नदीमा छठ पर्वका अवसरमा घाट निर्माण गरी स्नान तथा पूजापाठ गर्ने परम्परा छ। धार्मिक आस्था र विश्वाससँग जोडिएको नदीलाई स्वच्छ र पवित्र राख्नु सबैको साझा दायित्व भएको प्रशासनले जनाएको छ।
प्रशासनले नदी आसपास सञ्चालनमा रहेका उद्योग तथा औद्योगिक प्रतिष्ठानलाई उद्योगबाट निस्कने फोहोरमैला र विषाक्त रसायन नदीमा मिसाउन नदिन आग्रह गरेको छ। साथै नदी आसपास सरसफाइ कायम राख्न, फोहोरमैला तथा ढलको उचित व्यवस्थापन गर्न र प्रदूषण नियन्त्रणसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी सूचनामा निर्देशनविपरीत नदी प्रदूषण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
छठ पर्वका बेला श्रद्धालु भक्तजनले स्नान तथा पूजापाठ गर्ने नदीको स्वच्छता कायम राख्न प्रशासनले उद्योगी, व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।










