रौतहटको कटहरियामा मधेश रेडियो स्रोता संघ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

कोल्हवी न्यूज
२०८३ कार्तिक १५, शनिबार १८:१२ गते

दिपेन्द्र रजक,रौतहट:रौतहटको गौरस्थित रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा देखिएको रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले कटहरियामा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।

 

 

हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दीपावली तथा छठ पर्वको अवसर पारेर मधेश रेडियो श्रोता संघको आयोजनामा शनिबार कटहरिया बजारस्थित विवाह मण्डप भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

 

 

प्रतिकूल मौसमका बाबजुद पनि स्थानीयवासीले उत्साहपूर्वक सहभागिता जनाउँदै २० जनाले रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष रामबाबु साहले जानकारी दिए।

 

 

कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी गौरले गरेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र सिंह, रक्त सञ्चार सेवा समिति रौतहटका सहसंयोजक शेख कैमुदिन, बरिष्ठ पत्रकार तथा नेपाल परिवेश अनलाइनका अध्यक्ष सञ्जय मिश्रा, कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहा, वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता, कपडा व्यवसायी नसरुद्दिन अन्सारी, ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ट सई जयप्रकाश साह,पत्रकार राजु श्रीवास्तव, सागर ठाकुरलगायत स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

 

 

रक्तदान कार्यक्रम सफल बनाउन वडा नम्बर ४ का अध्यक्ष कुशवाहा, वडा नम्बर ५ का अध्यक्ष गुप्ता, व्यवसायी नसरुद्दिन अन्सारी तथा महाशक्ति साहलगायतले आर्थिक सहयोगसमेत गरेका थिए।

 

पछिल्लो समय गौरस्थित रक्त सञ्चार सेवा केन्द्रमा रगतको मागअनुसार पर्याप्त मौज्दात नहुँदा बिरामी तथा तिनका आफन्तले समस्या भोग्नुपर्ने अवस्था देखिएको छ। विशेषगरी चाडपर्वको समयमा नियमित रक्तदान कार्यक्रम कम हुने र आकस्मिक उपचारका लागि रगतको माग बढ्ने भएकाले यस्ता अभियानको महत्त्व अझ बढेको छ।

 

 

रगत कुनै कारखानामा उत्पादन गर्न नसकिने र एक व्यक्तिले गरेको रक्तदानले अर्को व्यक्तिको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिनुपर्ने नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र सिंहले बताएका छन्।

 

 

उनका अनुसार गौरस्थित ब्लड बैंकमा रगतको अभाव हुन नदिन रौतहट जिल्लाका विभिन्न स्थानीय तह तथा क्षेत्रमा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ।

 

 

 

कटहरियामा सम्पन्न यो कार्यक्रम संख्यात्मक हिसाबले सानो देखिए पनि यसले स्थानीय स्तरमा रक्तदानप्रतिको चेतना, सामाजिक सहभागिता र मानवीय सेवाभावलाई प्रोत्साहन गरेको छ।

 

 

चाडपर्वको अवसरलाई मनोरञ्जन र उत्सवमा मात्र सीमित नराखी जीवन बचाउने सेवासँग जोड्नु सकारात्मक अभ्यास हो। यस्ता अभियानलाई एकदिने औपचारिकतामा सीमित नगरी नियमित र व्यवस्थित बनाउन सके रौतहटको रक्त अभाव न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*