नयाँ नेतृत्वसँगै कांग्रेसको केन्द्रीय कार्यसमितिको काम आजदेखि सुरु हुने

कोल्हवी न्यूज
२०८३ कार्तिक १३, बिहीबार ११:५० गते

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार नवनिर्वाचित सभापति गगनकुमार थापाले असोज ३१ गते नै शपथ ग्रहण गरिसक्नुभएको छ। त्यसैले आज अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएपछि प्रमाणपत्र वितरण र पदबहाली गरिनेछ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटक शपथ ग्रहण कार्यक्रमलाई फरक ढाँचामा सञ्चालन गरिनेछ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा ९४ प्रतिशत मतसहित निर्वाचित हुनुभएको थियो।

त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो।

शपथ ग्रहण तथा पदबहालीपछि आजै पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि बस्ने तयारी छ। बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्ने जनाइएको छ।

यसैगरी, बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*