महिला क्रिकेट टोलीले मलेसियामै विश्वकप छनोट खेल्ने
राष्ट्रिय महिला क्रिकेट टोलीले मे २९ देखि जुन ४ तारिखसम्म मलेसियामा आयोजक राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोली टीट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा ब्यस्त हुनेछ ।
त्यसैले मलेसियामा हुने मैत्रीपूर्ण खेललाई विश्वकप छनोटको तयारीका रुपमा पनि लिइएको छ । महिला विश्वकपको एसियाली क्षेत्रको छनोट पनि मलेसियामै आयोजना हुनेछ । एसियाली क्षेत्रको छनोट प्रतियोगिता आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रि क्रिकेट महासंघ (आईसीसी)ले जनाएको छ ।
विश्वकपको एसियाली छनोटमा नेपालसहित ११ राष्ट्रको सहभागिता रहनेछ । एसियाली छनोटमा नेपालका अतिरिक्त आयोजक मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स ९यूएई०, हङ्कङ, भुटान, चीन, बहराइन, कुवेत, कतार र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् ।
एसियाली क्षेत्रको छनोटमा सहभागी अधिकांश टोली नेपालका लागि चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालले यसअघि पनि विभिन्न प्रतियोगितामा यी प्रतिद्वन्द्वीलाई हराइसकेको छ ।
एसियाली क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २ टोली ग्लोबल क्वालिफायर (विश्वस्तरिय छनोट प्रतियोगिता)मा प्रवेश गर्नेछ । विश्वस्तरिय छनोट प्रतियोगिता भने सन् २०२४ मा हुनेछ ।
विश्वस्तरिय छनोट प्रतियोगितामा भने २ बलिया टोली श्रीलंका र आयरल्यान्डका अतिरिक्त विभिन्न महादेशबाट छनोट भएर आएका टोलीहरुको सहभागिता रहने आईसीसीले जनाएको छ ।
विश्वस्तरिय छनोट प्रतियोगितामा एसियाबाट छनोट भएका २, अफ्रिकाबाट छनोट भएका २, युरोपबाट छनोट भएका २, अमेरिकाबाट छनोट भएको १, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएको १ टोलीले सहभागिता जनाउने छन् ।
विश्वस्तरिय छनोट प्रतियोगिताबाट २ टोली विश्वकपमा छनोट हुने आईसीसीले जनाएको छ । महिला विश्वकप क्रिकेट भने सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ । महिला विश्वकपमा १० टोलीको सहभागिता रहने छ । हालसम्म महिला विश्वकपमा सहभागी हुने ६ टोलीको टुंगो लागिसकेको छ । ति ६ टोलीमा अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।










