सुडानमा रहेका १३ जना नेपाली नेपाल आइपुगे

कोल्हवी न्यूज
२०८० बैशाख २२, शुक्रबार ०७:४८ गते

सुडानको कायरोमा रहेको नेपाली राजदूतावासको सम्पर्कमा आएका १३ जना नेपाली नेपाल आइपुगेका छन् ।

दूतावासको सम्पर्कमा रहेका ३१ जनामध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्याइएका १९ जनामा १३ जना हिजो नेपाल आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ ।

अन्य १२ जना मध्ये नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा हिजो पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदाबादका लागि प्रस्थान गरेका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सिमाना नजिक सुरक्षित रहेका छन् । तीनै जना नेपाली नागरिक कायरोमा रहेको नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित ठाउँमा उद्धार भइसकेको छ । सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दामा रहेका नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*