मकवानपुरको राक्सिराङमा निरन्तर खोला दोहन, सरोकारवाला सबै पक्ष चुप
मकवानपुरको राक्रिाङ गाउँपालिकाले निरन्तर रुपमा खोला दोहन गरेको पाइएको छ । ठेक्का मार्फत राक्सिराङको खोला उत्खनन् गरेर बिक्री गर्दा खोला दोहन गरेको पाइएको हो । बिगत दुइ महिना देखि यहाँका खोला उत्खनन् गर्नेक्रममा आईई गरेको भन्दा बाहेकको क्षेत्र पनि उत्खनन् गरिएको र तोकिएको मापदण्ड समेत पुरा नगरेको प्रतक्षदर्शीहरुले बताएका छन् ।
गाउँपालिकाले उत्खनन् र निकासी समेत गरेर १ लाख ४० हजार घनमिटरका लागि ठेक्का लगाएको थियो । पहिले बाँकी रहेका ग्राभेल र पछी खोलाबाट उत्खनन् गर्नुपर्ने २० हजार ८ सय २८ घन मिटर ग्राभेल समेतगरी गतिशिल निर्माण सेवा कम्पनिलाई ठेक्का दिइएको हो ।
बिगत दुइ महिना देखि ठेक्का मार्फत खोला उत्खनन् गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । निर्माण कम्पनि मार्फत गरिएको खोला उत्खनन्मा आईई रिपोर्टमा तोकिएको गहिराइ, लम्बाइ, चौडाइको कार्यान्वयन गर्नुको सट्टा त्यसको बेवास्ता गदै खोलाको दोहन गरिएको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् ।
राक्सिराङको खोलाबाट उत्खनन् गरिएको ग्राभेल स्थानीय क्रसर उद्योग, मनहरीमा रहेका क्रसर उद्योग र चितवनमा समेत पठाइएको छ । उत्खनन् गरिएका हरेक दिन सयौ टिप टिप्पर ग्राभेल बिक्री हुने गरेको छ । तै पनि निर्माण कम्पनिसंग संझौता भए अनुसारको ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गर्न अझै बाँकी रहेको राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबचन्द्र गर्तौलाले बताउनुभयो ।
निर्माण कम्पनिसंग गाउँपालिकाले ५ करोड नौ लाख रुपैयाँमा ग्राभेल उत्खनन् र निकासीको ठेक्का संझौता गरेको हो । तोकिएको घनमिटर भन्दा धेरै ढुङ्गा, गिट्टी, वालुवा निकासी भएको र उत्खनन्को काममा आईईका मापदण्ड कुनैपनि पालना नगरेको स्थानीय वासिन्दाहरु वताउँछन् ।
आईई मार्फत तोकिएका तीन वटा पइन हुन् । तर, त्यस बाहिरका क्षेत्रबाट पनि उत्खनन् गरेर बिक्री गरिएको छ । खोला उत्खनन्का लागि आईईमा तोकिएका धेरै मापदण्ड पुरा नगरीकन आफुखुसी एक्साभेटर चालकलाई खन्न सहज हुने क्षेत्रमा मात्र उत्खनन् गरिएको हो । दुइ महिना देखि उत्खनन् सुरु गरिएपनि बिचबिचमा काम रोक्दै तोकिएको मापदण्ड पुरा गरेर मात्रै ग्राभेल तानिएको गर्तौलाले बताउनुभयो । ठेक्का लिने कम्पनिले जथाभावि खोला उत्खनन् गरेको गुनासो आएकाले केहीदिनदेखि एक्साभेटरले खोला उत्खनन् गर्ने काम रोकिएको उहाँले बताउनुभयो ।
खोलाबाट उत्खनन् गर्नुपर्ने २० हजार ८ सय २८ घनमिटर मिटर भएपनि १२ हजार ९ सय ७० घनमिटर मात्र ग्राभेल उत्खनन् भएको उहाँले बताउनुभयो । पहिले यस क्षेत्रमा ट्याक्टरमा मजदुरी गर्नेहरुले साबेलले उत्खनन् गर्दा प्रहरीले पक्राउन गर्ने, जरिवाना तिराउने काम गर्दै आएको थियो । खोलामा गइ हाल्योकी प्रहरीले कयौ पटक ट्याक्टर समातेर लगिएको थियो । तर, तोकिएका मापदण्ड पुरा नगरिकन राक्सिराङमा खोला उत्खनन् गर्दा पनि सरोकारवाला निकायहरु चुप लागेर बसेका छन् । ट्याक्टर र मजदुरलाई समात्न आउने प्रहरी पनि रमिते बनेर बसेको छ ।
जथाभावि रुपमा खोला उत्खनन्को काम रोक्दै आएको जिल्ला अनुगमन समिति, स्थानीय प्रहरी, गाउँपालिकाको अनुगमन समिति, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यस बिषयमा कुनै चासो दिएका छैनन् । जन गुनासो आएकाले अब भने अनुगमन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले बताउनुभयो ।
पालिकाले ठेक्का लगाउने, उत्खनन् गर्ने अनुगमन समेत गर्ने जिम्मा उसैको भएको र त्यसमा आफुहरुले पनि थप अनुगमन गर्ने उहाँले बताउनुभयो । अनुगमन गर्ने काम जिल्ला अनुगमन समितिको पनि हो । अरु बेलामा खोलामा ट्याक्टर गएको बेलामा अनुगमनगर्नेहरु अहिले एक्साभेटर लगाएर खोलामा दोहन हुँदा भने खासै चासो दिएको देखिदैन ।