जनकपुर : स्वेतालाई उनकै श्रीमान्, ससुरा, सासू र देवरले आगो लगाएर मार्न खोजे
मागे जति दाइजो नदिएको भन्दै धनुषामा एक युवकले श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना खुलासा भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजीव झासहित उनको परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास गरेका हुन् । अहिले प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा आधा जलेको शरीर लिएर पीडादायी अवस्थामा उपचाररत छिन् श्वेता । पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
श्वेताका अनुसार घटना वैशाख १ गतेको हो । देश नयाँ वर्षको आगमनले उल्लासमय छाइरहेका बेला श्वेता भने घरमा चरम शारीरिक हिंसामा परिन् । केही आफन्तले उद्धार गरेर उनको ज्यान बच्यो । ‘नयाँ वर्ष थियो । म घरको काममा व्यस्त थिएँ । श्रीमान् बाहिरबाट रक्सी खाएर आउनुभो । मेरो जेठो छोरालाई बिना काम कुट्नुभो । म केही बोलिनँ । फेरि छोरीलाई कुट्न थाल्नुभो अनि मैले प्रतिकार गरें’, श्वेताले पीडा पोखिन्, ‘नयाँ वर्षको दिन छोराछोरीलाई बिना काम किन कुट्नु भएको हो भनी विरोध गर्दा उल्टै मलाई फोहोर गाली दिन थाल्नुभो । एकै छिनमा सासु र देवर पनि आए र गाली बेइज्जती गर्न थाले ।’
आफूले जवाफ दिँदा मुखमुखै लाग्छेस् भनेर उल्टै कुट्न थालेको उनले सुनाइन् । ‘हुँदाहुँदै सासुले आज यसलाई खत्तम नै गर्नुपर्छ भन्नुभो । त्यत्ति भनेर सासुले हात समात्नुभो देवरले टाउको । अनि श्रीमानले मेरो कपडामा सलाई बालिदिनुभो’, उनले भनिन्, ‘म जल्न थालेपछि कोठामै चिच्याएँ । तर, उहाँहरूले मलाई कपालबाट तान्दै आँगनमा ल्याएर फाल्नुभो । त्यत्तिकैमा छिमेककै एक जना नन्द पर्नेले मेरो हालत हेरिन् । उनले बाल्टीबाट पानी ल्याएर जिउमा खन्याइन् । आगो निभाएर मलाई आफ्नो घर लगिन् ।’
‘करिब एक घण्टासम्म मैले छट्पटाउँदै अनुनयविनय गरेपछि मलाई श्रीमान् र सासुले जनकपुर ल्याएर जानकी हेल्थ केयर सेन्टरमा भर्ती गराउनुभो । तर, त्यहाँ भर्ती भएको अर्को दिननै पट्टीहरू बाँधेर फेरि घर लग्नुभो’, उनले भनिन्, ‘त्यत्ति बेलासम्म ९ वर्षीय छोराले भारत बस्ने मेरा बुवालाई फोन गरेर सबै जानकारी गराइसकेको थियो । त्यसपछि बुवा आएर मलाई उपचारका लागि सरकारी अस्पतालमा भर्ना गराउनु भो ।’
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतमा छ । उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भयो । त्यसको १० वर्षसम्म श्रीमान र परिवारबाट यातना र हिंसा भोग्नु पर्यो । ‘मैले बिहे भएदेखि नर्क भोगिराखेको छु । कुटपिट, मानसिक यातना र दुःखको त कुनै हिसाब नै छैन । तर, अस्ती सामान्य वादविवादमा सासुले कपाल तान्दै कुट्नु भयो र जलाएर आज यसको खेला नै खतम गरिदेऊ भनी श्रीमान् र देवरलाई भन्नुभयो’, श्वेताले भनिन् ।
राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् । नेपालमा भएका नातेदारले नै ‘केटा राम्रो छ’ भनेपछि उनी बिहे गर्न तयार भएकी थिइन् । माइतीले २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो दिएका थिए । तर, राजीवको परिवारले तीन तोला सुनको माग राख्यो । त्यत्ति बेला त श्वेताका बुवाले बिस्तारै सुन दिने भनी कुरा टारे । तर, उनले माग पूरा गर्न सकेनन् । श्वेतामाथि घरमा यातना सुरु भयो ।
राजीव भने श्वेताले लगाएका आरोप निराधार रहेको दाबी गर्छन् । ‘उसले आफैं लाइटर बालेर शरीरमा आगो लगाएकी हुन्’, उनले भने, ‘घरमा छोराछोरीबीच मोबाइलको विषयमा विवाद भइरहेको थियो । ऊ आवेशमा आएर छोेरोलाई पिट्न थाली । मैले रोकेपछि विवाद भयो र एकछिनमै आफैं आफ्नो शरीरमा आगो लगाइन् ।’