चिट चोर्न नपाएपछि कलैयाको क्याम्पसमा तोडफोड, २ जना पक्राउ
बाराको कलैयास्थित रामराजा क्याम्पसमा चिट चोर्न नदिएको भन्दै स्नातक तहका परीक्षार्थीहरूले तोडफोड गरेका छन्।
स्नातक तह पहिलो वर्षको परीक्षा चलिरहेका बेला बिहीबार बिहान कलेजमा तोडफोड भएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनले शिक्षकहरूमाथि समेत हातपात भएको बताए। उनका अनुसार ती तोडफोड र शिक्षकमाथि हातपात गर्ने २ जना परीक्षार्थीलाई पक्राउ गरि अहिले जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।
‘चिट चोर्न नदिएको भन्दै कलेजमा तोडफोड भयो, त्यसपछि उनीहरूलाई पक्राउ गरिएको छ,’ सापकोटाले भने। उनले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए।