भारतमाथि निगरानी गर्नका लागि श्रीलंकामा रेडार बेस राख्न खोज्दै चीन
0.भारतको रक्षा तयारी, क्षेप्यास्त्र परीक्षण र अन्तरिक्ष निकाय इसरोको गतिविधिमा निगरानी गर्नका लागि चीनले तयारी गरेको खुलासा भएको छ ।
श्रीलंकामा नयाँ रेडार बेस बनाउनका लागि चीनले प्रस्ताव गरेको भनी भारतीय सञ्चारमाध्यमहरूमा खबर आएका छन् । चीनले श्रीहरिकोटामा हुने भारतीय क्षेप्यास्त्र परीक्षणमा पनि नजर राख्न खोजेको छ ।
श्रीलंकाको राजधानी कोलम्बोबाट १५५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोन्ड्रा बेस्थित घना जंगलहरूमा अखडा बनाउन चीनले तयारी गरेको बताइएको छ । चीनले त्यो बेस बनाएमा भारत र अमेरिकाको गतिविधिमा निगरानी गर्न पाउँछ ।
द टाइम्स अफ इन्डियाका अनुसार, चीनको एकेडमी अफ सायन्सेसको एयरोस्पेस इन्फर्मेशन रिसर्चले यस परियोजनाको नेतृत्व गरिरहेको हुन सक्छ ।
प्रस्ताव गरिएको रेडारले डिएगो गार्सिया नामक टापुमा रहेको अमेरिकी सैन्य अखडालाई पनि निगरानी गर्नेछ । त्यो ठाउँ हिन्द महासागरमा डोन्ड्रा बेबाट १७ सय किलोमिटर दक्षिणपश्चिममा पर्छ ।
चिनियाँ रेडार राख्न श्रीलंकाले अनुमति दिएमा भारतका सैन्य संरचनाहरू बेइजिङको रेडारमा पर्नेछन् । अन्डमान निकोबारलाई समेत त्यसले निगरानी गर्नेछ । एजेन्सी










