एक खेल अगावै अफगानिस्तानले जित्यो पाकिस्तान विरुद्धको टी-२० सिरिज
युएईमा जारी पाकिस्तान र अफगानिस्तानबीचको तीन खेलको टी-२० सिरिज एक खेल बाँकी हुँदै अफगानिस्तानले जितेको छ। आइतबार राति भएको खेलमा अफगानिस्तानले लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा पाकिस्तानलाई १ बल बाँकी रहँदा ७ विकेट पराजित गरेको हो।
२-० ले सिरिजमा अग्रता बनाएसँगै पाकिस्तानविरुद्ध कुनै पनि फर्म्याटमा अफगानिस्तानले पहिलो पटक सिरिज जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान खराब सुरुवातको सिकार भयो। उसका ओपनर सइम अयुब शून्य रनमा आउट हुँदा उनको स्थानमा आएका अब्दुल सकिक पनि एलबिडब्लु आउट हुँदै शून्य रनमा दुई विकेट गुमाउन पुगेको थियो। सफिक टी-२० अन्तराष्ट्रियमा लगातार चौंथो खेलमा डकआउट हुने पहिलो खेलाडीसमेत बने।
खराब सुरुवातका बाबजुत इमाद वासीमले ६४ रनको नटआउट इनिङ खेलेका थिए। त्यस्तै कप्तान सादव खानले ३२ रन बनाए। थप दोहोरो स्कोरका रूपमा तयाव ताहिरले १३ रन बनाउँदा मोहम्मद हरिसले १५ रन बनाएका थिए। पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।
जवाफमा अफगानिस्तानले १ बल बाँकी हुँदा लक्ष्य पूरा गर्यो। अफगानिस्तानका लागि रहमनुल्लाह गुर्वाजले ४४ रन बनाउँदा इब्राहिम जाद्रनले ३८ रन बनाए। त्यस्तै, नजिबुल्लाह जाद्रनले २३ रन बनाएँदा मोहम्मद नावीले १४ रन बनाएका थिए।










