तिब्बती शरणार्थीको नेपाली नागरिकता बनाइदिएको आरोपमा ५ जना पक्राउ

कोल्हवी न्यूज
२०७९ चैत्र ८, बुधबार १५:५९

 तिब्बती शरणार्थीहरुको नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाको कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौँ बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैंचाका हिरालाल शिवाकोटी, तनहुँको शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुरको गोदावरीका विजय लामा रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँको बबरमहलबाट यही चैत ५ गते पक्राउ गरिएको हो।

पक्राउ परेका कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। उनले पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको प्रहरीको भनाइ छ।

कटवालले त्यसरी किर्ते कागजात तयार गरी गैरनेपाली सक्कली नेपाली नागरिकता दिलाउन प्रतिव्यक्ति ३ देखि ५ लाख रुपैयाँसम्म लिने गरेको प्रहरीले खुलाएको छ।

कटवालले मात्रै ५/६ वर्षको अवधिमा झण्डै ५०० भन्दा व्यक्तिलाई नागरिकता दिलाएको र उक्त कार्यमा अन्य ४/५ जना व्यक्ति पनि सक्रिय रहेको सूचना पाएकोले उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*