बर्दिबासमा दिनदहाडै चोरी हुन थालेपछी व्यवसायीहरु असुरक्षित
महोत्तरीको बर्दिबास सहरमा दिनदहाडै चोरी हुन थालेपछी व्यापारीहरुले असुरक्षित महसुस गर्न थालेका छन् ।
मंगलबार प्रदिप सेन्चुरीको सुनचाँदी पसलबाट सुन चोरी गर्ने ब्यक्तीलाइ प्रहरीले समेत पक्राउ गर्न नसक्नुले असुरक्षित महसुस भएको व्यापारीले बताए ।
यसैबीच आज सुनचाँदी व्यवसायीहरुले इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा ब्यवसायीले जिल्ला सुरक्षा कार्यालयको भुमिकामाथी नै प्रश्न उठाएका छन् ।
सुन जोखाउनु छ भन्दै सुनको डब्बा नै लुटेर मोटरसाइकलमा फरार हुने व्यक्तिको हुलिया सहित प्रहरी र स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदा पनि यस्को सुनुवाई हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।
व्यवसाय संचालनको क्रममा लुटपाट हुनु आफैमा निन्दनीय भएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी संघ महोत्तरीका महासचिव बिनोद भण्डारीले जिल्लाको कमजोर सुरक्षा अवस्थाको चित्रण भएको बताए ।
दोषीलाई तत्काल पक्राउ गरि कानुनी दायरमा ल्याउन पनि व्यवसायीहरुले सम्बद्ध निकायसगँ माग गरेका छन् ।
पछिल्लो समय बर्दिबासमा साना तथा ठुला व्यवसायीहरुका सटर फुटाएर चोरी भएका घटनाहरु बाक्लिदै गएका छन् । कहिलेकाही त एकै रातमा ३ वटासम्म पसल चोरी हुने गरेको व्यवसायीहरुको गुनासो छ ।
यता उद्योग वाणिज्य संघ बर्दिबासले चोरीका घटनाहरुको विषयलाई गम्भीरतापूर्वक लिएको बताएको छ । वाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठले चोरीलाइ कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा विभिन्न चरणमा छलफल समेत भैइसकेको बताए ।
सिसिटिभी जडान देखि बर्दिबास सहरलाइ सुरक्षित बनाउन सुरक्षा निकाय र स्थानीय सरकारसँग गहन छलफल भैइरहेको अध्यक्ष बिष्णु खडकाको भनाइ छ ।