युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसंघद्वारा चार अर्ब तीस करोड डलर माग

कोल्हवी न्यूज
२०७९ फाल्गुन १५, सोमबार १२:१२ गते

संयुक्त राष्ट्रसंघले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् ।

यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको सबैभन्दा गरिब देशलाई विश्वको सबैभन्दा खराब मानवीय त्रासदीमा डुबाएको छ ।

यमन जलवायु संकटको प्रभावको अग्रपङ्क्तिमा रहेको र भीषण खडेरी र बाढीले जीवनलाई खतरामा पारेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

“विश्वव्यापी मानवीय आवश्यकताहरूले दाताहरूको सहयोगलाई पहिले कहिल्यै विस्तार नगरेका भएपनि यमनमा सहायता अभियानका लागि निरन्तर सहयोग बिना लाखौं यमनीको जीवन सन्तुलनमा नरहने र द्वन्द्व सदाका लागि अन्त्य गर्ने प्रयास अझ चुनौतीपूर्ण हुनेछ,” संयुक्त राष्ट्रसंघले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मा हुथी विद्रोहीले राजधानी साना र देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धनले सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । गत वर्ष अप्रिल २ मा सुरु भएको युद्धविराम गत अक्टुबरमा समाप्त भएको थियो ।

जेनेभामा सोमबार हुने दाता सम्मेलनमा भाग लिन आएका संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायसँग यो संकट अन्त्य गर्ने शक्ति र साधन रहेको बताएका छन् । “यो हाम्रो अपिललाई पूर्ण रूपमा वित्तपोषण गरेर सुरु हुन्छ र संयुक्त राष्टसंघ चाँडै रकम वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” उनले भने ।

गत वर्ष संयुक्त राष्ट्रसंघले सहायता एजेन्सीहरूलाई हरेक महिना देशभरका करिब एक करोड १० लाख मानिससम्म पुग्नका लागि २.२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाएको थियो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*