ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते

कोल्हवी न्यूज
२०७९ फाल्गुन ४, बिहीबार ०८:५१

खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ ।

गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरिकला भण्डारी घाइते हुनुभएको हो । घाइते दुवै जनाको अहिले काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले गएराति अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र भण्डारीको झण्डै २५ प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीर जलेको डाक्टरले जानकारी दिएका बताउनुभएको छ । खाना खाएर सुतिसकेपछि गएराति १० बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ । ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन ।

नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*