मधेस प्रदेशको ग्रामीणभेगमा दुर्घटना जोखिम बढदै
रौतहट । मधेस प्रदेशको रौतहट स्थित ग्रामीणभेगमा दिनप्रतिदिन सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ। रौतहटको संसदिय निर्वाचन क्षेत्र न.३ को मध्यभागमा पर्ने जिल्लाको पुरानो तथा चर्चित बजार कटहरिया,गुजरा,समनपुर,बिजयपुर लगायत ग्रामीण भेगमा मा दिनानुदिन सवारी दुर्घटना जोखिम बढ्दै गएको हो।
जंगलसहिया,दुधिअवा,समनपुर,तथा कटहरिया बजार क्षेत्रमा बढ्दो सवारी साधन र ट्राफिक प्रहरिको उपस्थिति नभएकै कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीय हरुले बताएका छन । ईलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक महतोले पटकपटक सवारी ब्यवस्थापन गर्न खोज्दा पनि राजनीतिक हस्तक्षेप र चालकको लापरबाही नियन्त्रण हुनसकेको छैन। सवारी चालक अनुमतिपत्र नभएका मात्र १४र१५ बर्षका युवाहरु बिना हेल्मेट तिब्रगतिमा मोटरसाइकल चलाउने ,ट्याक्टर चालकले ओभरलोड गरेर जथाभावी चलाउने गरेकाले पनि दुर्घटना जोखिम बढेको स्थानीय समाजसेवी दिनानाथ साहले बताएका छन ।
युवाहरुले आफ्नो क्षमता भन्दा बढी गतिमा मोटरसाइकल चलाउंदा थपजोखिम बढेको समाजसेवी साहले जानकारी दिएका छन । त्यतिमात्र नभै बेलुका बेलुका कटहरिया बजारमा रहेको विभिन्न रक्सी पसलमा रक्सी सेवन गरेर तिब्रगतिमा मोटरसाइकल चलाउने गरेकाले कटहरिया बजारमा दैनिक दुर्घटना भैरहेको रबि गुप्ताले ले बताएका छन । मंगलबार कटहरिया ईलाका प्रहरी कार्यालयको अगाडि एउटा भारतिय नम्बरको मोटरसाइकलको ठक्करले कटहरिया ५ सिकेन्द्र साहको ३ बर्षिय छोरा अनिस कुमार गम्भीर घाइते भएका थिए ।घाइते बालकलाई उपचारको लागि तत्कालै एम्बुलेन्स बाट बिरगंज पठाईएको तथा ठक्कर दिएका बिआर ०५ एसि ९४८७ नम्बरको मोटरसाइकल तथा चालक नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अशोक महतोले बताएका छन ।
यो दुर्घटना एउटा उदाहरण मात्र हो। कटहरिया बजार तथा आसपासका क्षेत्रमा चालकको लापरबाहीले दैनिक दर्जन बढी सवारी दुर्घटना भैरहेको रेडियोकर्मि गुप्ताले जानकारी दिएका छन । मंगलबार अपरान्ह ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलि कटहरिया बजारमा छड्के गर्दा मोटरसाइकल चालकहको भागाभाग भएको थियो । जिल्ला ट्राफिक प्रमुख ईन्स्पेक्टर बिमला कुमारी कठायतको नेतृत्वमा गएको ट्राफिक टोलिले कटहरिया बजारमा मात्र १ घन्टा भित्र बिना हेल्मेट ,बिना चालक अनुमति पत्र तथा सवारीधनी प्रमाणपत्र नभएको अथवा घरमा छुटेको ३० थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो । उनिहरुलाई गरिएको कार्वाही बाट ५ हजार रुपैया राजस्व संकलन भएको ईन्स्पेक्टर कठायतले बताएकी छन ।
पहिलो चोटिको लागि पाँचसयको दरले १० वटा मोटरसाइकल चालक लाई जरिवाना गरिएको तथा अन्यलाई पहिलोपटक सम्झाई बुझाई छोडेको रौतहट ट्राफिक प्रमुख कठायतले जानकारी दिएकी छिन। मधेस प्रदेशका पुर्व प्रदेश सांसद कुन्दन कुश्वाहाले कटहरिया लगायत ग्रामीणभेगमा ट्राफिक ब्यवस्थापन नभएसम्म दुर्घटना न्यूनीकरण नहुने बताउँदै स्थायी ट्राफिक पोस्ट राख्न माग गरेका छन । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी संतोष भट्टराईलाई कटहरिया क्षेत्रको अवस्था बारे जानकारी गराउंदा उहाँ ले केहिदिन भित्रै कटहरिया लगायत केही स्थानमा स्थायी ट्राफिक पोस्टको ब्यवस्थापन गराउने प्रतिबद्धता जनाएका छन ।