अनलाइन ठगीको शिकार बन्यो आईसीसी, २५ लाख डलर चोरी

कोल्हवी न्यूज
२०७९ माघ ७, शनिबार ०६:३८

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग २५ लाख डलर (लगभग साढे ३२ करोड रुपैयाँ) ठगीको मामिला बाहिर आएको छ । यसबारे आईसीसीले आधिकारिक रुपमा केही बताएको छैन । तर, मिडिया रिपोर्टका अनुसार अमेरिकाको ठगले आईसीसीलाई ४ पटक भुक्तानीका लागि इमेल पठाएको थियो र आईसीसीले चारै पटक ठगलाई भुक्तानी गरेको थियो ।

आईसीसीको मुख्यालय दुबईमा छ। उसलाई बिहीबारसम्म पनि आफू अनलाइनमा ठगिएको थाहा थिएन । ठगीको जानकारी प्राप्त हुनासाथ आईसीसीले तुरुन्तै छानबिन सुरु गरेको थियो । अनुसन्धानलाई ध्यानमा राख्दै, आईसीसीले ठगीको बारेमा आधिकारिक बयान जारी गरेको छैन।

मिडिया रिपोर्टका अनुसार अमेरिकामा आधारित ठगले आईसीसीका अन्य ग्राहकको जस्तै इमेल ठेगाना बनाएर संस्थालाई मेल पठाएको थियो जसमा आईसीसीलाई रकम भुक्तानीका लागि आग्रह गरिएको थियो। आईसीसीले रकम भुक्तानी पनि गर्‍यो तर बिहीबार जसलाई वास्तवमा भुक्तानी गर्नुपर्ने थियो, उनीहरूले कहिल्यै रकम नपाएको कुरा बाहिर आयो।

आईसीसीको वित्त विभागले यस विषयमा आन्तरिक र बाह्य अनुसन्धान थालेको छ । चारपटक रकम ठगी भइसकेपछि पनि किन कसैलाई थाहा नभएको भन्दै अर्थ विभागले कर्मचारीलाई प्रश्न गर्न थालेको छ । तर, यसबारेमा अहिलेसम्म धेरै जानकारी आएको छैन ।

यसअघि जमैकाका पूर्व धावक तथा ८ ओलम्पिक स्वर्ण पदक विजेता युसेन बोल्ट पनि ठगीमा परेका थिए । ११ जनवरीमा उनको खाताबाट १.५ अर्ब रुपैयाँ हरायो । त्यसपछि उनीसँग १६ लाख रुपैयाँ मात्रै बाँकी रह्यो । बोल्टको पैसा जमैकाको स्टक एण्ड सेक्युरिटीज लिमिटेड (एसएसएल) कम्पनीसँग जोडिएको थियो।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*