म्यान्मार द्वन्द्वः देश मै हतियार उत्पादन गर्न सेनालाई विश्वव्यापी कम्पनीको साथ
म्यान्मारमा सेनाले आफ्नै मानिसहरूविरूद्ध प्रयोग गर्न कम्तीमा १३ देशका कम्पनीहरूले आपूर्ती गरेका सामग्रीहरूबाट थुप्रै प्रकारका हतियारहरू निर्माण गरिरहेको संयुक्त राष्ट्रसंघका एक पूर्व उच्च अधिकारीले बताएका छन्।
म्यान्मारलाई एक्लाउन पश्चिमा नेतृत्वको प्रतिबन्ध लागेको भए पनि त्यसरी हतियार बनाउन सामग्री आपूर्ति गर्नेमा अमेरिका, फ्रान्स, भारत र जापानलगायतका देशहरू रहेको भनेर नाम सहित उल्लेख गरिएको छ।
प्रतिवेदनका अनुसार सेनाको विरोध गर्नेविरुद्ध घरेलु उत्पादित हतियारहरू नै प्रयोग गरिएको थियो।
सन् २०२१ को फेब्रुअरीमा सैन्य कू भएयता म्यान्मार हिंसामा फसेको छ।
को हुन् म्यान्मारका ‘बौद्धमार्गी बिन लादेन’
म्यान्मारमा सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध
निर्वाचित सरकारलाई सत्ताबाट बाहिर निकालेको सैनिक कूको विरोध गर्नेहरू त्यसपछि लागु गरिएको सैनिक शासनको प्रतिरोध गर्न जातीय विद्रोही समूहहरूमा आवद्ध भएका छन्।
म्यान्मार मामिलामा विशेष परामर्श परिषदले तयार पारेको उक्त प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका थुप्रै सदस्य राष्ट्रहरूले त्यहाँको सेनालाई हतियार बेच्न निरन्तरता दिएको उल्लेख छ।
“उत्तिकै महत्त्वपूर्ण पक्ष भनेको म्यान्मारको सशस्त्र फौजले देशभित्रै थुप्रै किसिमका हतियारहरू उत्पादन गर्न सक्छ भन्ने तथ्य हो र त्यसको प्रयोग आफ्नै नागरिकलाई निसाना बनाउन भैरहेको छ,” प्रतिवेदनले भनेको छ।
नाम उल्लेख गरिएका कम्पनीहरूले म्यानमारको सेनालाई कच्चा पदार्थ आपूर्ति गर्ने देखि लिएर तालिम र मेसिनहरू उपलब्ध गराउने गरेका छन्। त्यसरी उत्पादित हतियारहरू सीमा सुरक्षाका लागि प्रयोग नभएको पनि प्रतिवेदनले जनाएको छ।
“म्यानमारमा कहिल्यै पनि अन्य देशबाट हमला भएको छैन,” संयुक्त राष्ट्र सङ्घको भूतपूर्व विशेष मानवअधिकार प्रतिवेदक तथा नयाँ प्रतिवेदनको लेखक मध्येकी एकजना याङ्गी लीले भनिन्।
“र म्यानमारले कुनै हतियार निर्यात पनि गर्दैन। सन् १९५० यता आफ्ना मानिसहरूविरुद्ध प्रयोग गर्न म्यान्मार आफैँले हतियार बनाएको छ।”बिबिसीबाट










