इटालीका कुख्यात फरार माफिया बोस पक्राउ

कोल्हवी न्यूज
२०७९ माघ ३, मंगलवार ०७:१०

इटालीको एक नम्बर कुख्यात माफिया बोसका रूपमा परिचित मात्तियो मेस्सिना दिनारो पक्राउ परेका छन् । सोमबार सिसीली सहरको पालेर्मोस्थित एउटा निजी क्लिनिकबाट उनलाई गिरफतार गरिएको इटालियन अर्धसैनिक प्रहरीले जनाएको छ ।

प्रहरी फौजको विशेष अभियान टोलीको नेतृत्व गरेका काराविनिएरी जनरल पास्कवाले एन्जेलोसान्ताले अज्ञात रोगको उपचार गराइरहेको अवस्थामा उनलाई क्लिनिकबाट पक्राउ गरिएको बताएका छन् । काराविनिएरीका दुईजना प्रहरी अधिकारीले उनलाई क्लिनिकबाट समातेर बाहिर राखिएको कालो भ्यानमा राखेर लगोका थिए ।

खैरो छालाको ज्याकेट, त्यसलाई मिल्नेगरी खैरो र सेतो रङको टोपी तथा रङ्गिन चस्मा लगाएका मेस्सिना दिनारोको अनुहार ओइलाएको थियो भने उनी सिधा अघिल्तिर हेर्दै हिँडेका थिए ।

इटालीको सरकारी टेलिभिजनले प्रहरीले तत्कालै एक गोप्य स्थानमा लगेको जनाएको छ । युवा अवस्थामा फरार भएका उनी अहिले ७० वर्ष उमेरका छन् । उनको पश्चिमी सिसीलीको बन्दरगाह सहर ट्रापानीमा शक्ति केन्द्रित रहेको थियो । भगौडा अवस्थामा पनि उनलाई सिसीलीको कोसा नोस्त्राको प्रमुख बोस मानिन्थ्यो ।

दशकौँसम्म पनि सयौँ प्रहरी परिचालन गरेर पनि पक्राउ गर्न नसकिएका तीनजना उच्च स्तरका माफिया बोसमध्ये उनी पछिल्लो हुन् ।

मेस्सिना दिनारोको अनुपस्थितिमै उनलाई अदालतमा दर्जनौँ हत्यामा दोषी करार गर्दै थुप्रै मृत्युदण्ड सुनाइएको थियो ।
सन् १९९२ मा माफिया विरोधी चर्चित वकिलहरू गियोभानी फाल्कोने तथा पावोलो बोसेल्लिनो र फाल्कोनकी पत्नी लगायत उनीहरूका थुप्रै अंगरक्षकलाई सिसीलीमा दुईवटा बम आक्रमण गरी मारेको अभियोगमा पनि उनले सजाय भोग्नु बाँकी नै छ ।

उनले गरेको अर्को डरलाग्दो अपराधमा एकजना माफियाका कलिलो उमेरका छोरोको हत्या पनि हो । अपहरणपछि घाँटी थिचेर मारिएका ती बालकको लाशपछि एसिडमा घोलिएको अवस्थामा फेला परेको थियो ।

एपीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*