मानव बेचविखनमा संलग्न भएको आरोपमा होटल सञ्चालक पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका –१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका –८ घर भएका ५४ वर्षीय अनिलकुमार अरोडा रहेका छन् ।
त्यस्तै, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका –११ घर भएका ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका –४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेको प्रहरीले जनाउको छ ।
सो होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य काम भइरहेको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले राति होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूउपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।