अमेरिकामा हवाई उडान सामान्य अवस्थामा फर्कंदै
अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले अमेरिकाभरि घण्टौँसम्मको हवाई उडान ढिलाइपछि अहिले विस्तारै विमानहरू सामान्य ढंगले उड्न थालेको बताएको छ । उडानका रुटमा आउनसक्ने सम्भावित खतराबारे पाइलटहरूलाई सूचना दिने प्रणालीमा अचानक खराबी देखिएपछि देशभर उडान कार्य प्रभावित भएको थियो ।
एफएएले उडानहरू पुनस् सञ्चालनमा आउने समय पनि तोकिसकेको छ । यसले अझै पनि समस्याको कारण माथि निरन्तर छानबिन भइरहेको जनाएको छ । पहिल्यै आकाशमा रहेका उडानहरूलाई पनि आफ्नो गन्तव्यतर्फ निरन्तर बढ्ने अनुमति दिइसकेको छ ।
न्युजर्सीको नेवार्क विमानस्थल र हार्ट्सफिल्ड–ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलले सो क्षेत्रको एयर ट्राफिकको चाप बढी रहेकाले अन्यले भन्दा अलि चाँडै उडान सुचारु गरेका थिए । घण्टौँसम्म रोकिएका उडानका कारण प्रतीक्षामा रहेका थुप्रै उडानका समस्यालाई सम्बोधन गर्ने क्रममा स्थानीय निकायहरूले जमिनमै विमानलाई ढिलाइ गर्ने कार्यक्रम लागु गर्ने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उडान समस्याबारे जानकारी गराइसकिएको छ । यसैगरी ह्वाइट हाउसले अहिलेसम्म साइबर हमला भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ । पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले केही घण्टाभित्रै एफएएले समस्याको कारण पत्ता लगाउने र त्यतिबेला थप जवाफ दिइने बताएका छन् ।
ट्विटरमार्फत ह्वाइट हाउसका प्रेस सचिवले बाइडेनले यसबारे पूर्ण छानबिन गराउन आह्वान गरेको जानकारी दिएका छन् । अमेरिकी पारवहन विभागका मन्त्री पेटे बुटिगिएगले बुधबार बिहान आफू एफएएको सम्पर्कमा रहेको र उनीहरू छिटो र सुरक्षित ढंगले समस्या समाधान गर्न लागि परेको बताएका छन् ।
बीबीसीबाट ।










