चीनबाट आउनेहरूमाथि नयाँ कोभिड नियम लागु गर्ने अमेरिकाको तयारी

कोल्हवी न्यूज
२०७९ पुष १४, बिहीबार ०६:४० गते

बेइजिङले आगामी महिनादेखि आफ्नो सीमाना खुला राख्ने घोषणा गरेपछि अ‍मरिकाले चीनबाट आउनेहरूमाथि नयाँ कोभिड नियमहरू लागु गर्ने तयारी गरेको छ । अमेरिकी अधिकारीहरूले चीनमा कोभिड–१९ संक्रमित घटना वृद्धि भएकाबेला चीनले पारदर्शी ढंगले वास्तविक तथ्यांक बाहिर नल्याएकाले नयाँ निमय ल्याउन लागिएको बताएका छन् ।

जापान, मलेसिया र ताइवान यसअघि नै कोभिड भित्रिने डरले स्वास्थ्य परीक्षणमा नेगेटिभ देखिएकाहरूसहित चीनबाट आउने पर्यटकहरूमाथि स्वास्थ्य सम्बन्धी कडा नियमहरू लागु हुने बताइसकेका छन् ।

बेइजिङले वैज्ञानिक आधारमा कोभिड नियमहरू ल्याइनुपर्ने बताएको छ । भारतले पनि चीनबाट आउने पर्यटकहरूमाथि कडा निगरानी राख्दै सुरक्षाका उपायहरू अपनाइरहेको छ । तर, भारतले भने बेइजिङले कडा सीमाना नीति फुकुवा गर्नुअघि नै सतर्कता उपायहरू अपनाउन थाले‍को हो ।

चीनको आप्रवास निकायले विदेश भ्रमण गर्न इच्छुक चिनियाँ नागरिकहरूका लागि राहदानी निवेदन प्रक्रिया ८ जनवरी देखि पुनस् सुरु हुन लागेको जनाएको छ । ट्राभल साइटहरूले ट्राफिकमा स्पाइक रिपोर्ट गरेकाले केही मुलुकहरू कोभिडको सम्भावित फैलावटलाई लिएर डराएका छन् ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले पश्चिमी मुलुकहरू र सञ्चार माध्यमले चीनको कोभिड नीति व्यवस्थापनलाई बढाइचढाइ तथा तोडमोड गरेको आरोप लगाएका छन् । बेलायत र जर्मनीले परिस्थितिलाई नजिकबाट नियालिरहेको तर अहिल्यै चिनियाँ पर्यटकहरूमाथि नयाँ नीति लागु गर्नेबारे नसोचेको बताएका छन् ।

गत साता बेइजिङले प्रत्येक दिन करिब चार हजारको संख्यामा नयाँ कोभिड संक्रमित भेटिने गरेको तथा केहीको मृत्यु भएको तथ्य सार्वजनिक गरेको थियो ।
बीबीसीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*