एस.एस.बि को हराएको एस. एम.जि सशस्त्र प्रहरी बल नेपालको सहयोगमा फेला पर्यो( भिडियो रिपोर्ट सहित)
कोल्हवी:भारतीय विशेष सीमा सुरक्षा बल (एसएसबी) को हराएको हतियार (सर्ट मेशिन गन) एसएमजी सशस्त्र प्रहरी बल नेपालको सहयोगमा फेला परेको छ ।
भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अठमोहन स्थित तैनाथ एसएसबीको जी कम्पनीमा कार्यरत एसएबीका असई वृज कुमारले बोकेको ३५ राउण्ड गोली लोड भएको हतियार सोमबार ६ः४५ बजे हराएको सूचना पाएपछि नेपाल र भारतर्फका सीमा सुरक्षा बलले खोजी शुरु गरेको थियो ।
हतियार हराएको सूचना सशस्त्र प्रहरी बल नम्बर २ बाहिनी छिन्नमस्ता बर्दिवासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पाएपछि तत्काल सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको थियो । उहाँको निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिम्रौनगढबाट खटिएको थियो ।
खोजी गर्ने क्रममा सशस्त्र प्रहरी जवान सुनिल यादवको सूचनाको आधारमा नेपालको सिम्रौनगढ इलाकामा पर्ने सतुवाही नाकाबाट भारत तर्फ बिहारको मोतिहारी जिल्ला अगरवा ग्राम पञ्चायत कोटगावाँ स्थित अलियास अन्सारीको घर नजिकै पोखरीको डिलमा झोलामा रहेको एसएसबीको हतियार फेला परेको सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
पूर्वी चम्पारण जिल्लाको भारतीय सीमा सुरक्षा बलको जी कम्पनीको अठमोहनमा कार्यरत एसएसबीका असई वृज कुमारको हराएको ब्याग सहितको हतियार फेला परेको हो ।
भारतीय एसएसबी गिरघाट पोष्टबाट सतुवाही कोहलपुर बीचको एसएसबी पोष्टबाट डिउटीमा रहेका एसएसबी पिसाब फेर्न लाग्दा खाली भुँईमा राखिएको समयमा झोलामा रहेको हतियार सहित त्यसमा लाग्ने ३५ राउण्ड गोली, हराएको थियो ।
सशस्त्र प्रहरीले शंका लागेर सिम्रौनगढका गुलमहम्द लाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले जानकारी दिनुभयो ।