विषाक्त मदिरा सेवनबाट बिहारमा कम्तिमा २६ जनाको मृत्यु
भारतको बिहार राज्यको छपरा जिल्लामा विषाक्त मदिरा सेवनका कारण कम्तिमा २६ जनाको मृत्यु भएको छ।
विषाक्त मदिरा सेवनबाट बिरामी परेका ९ जनाको छपराकै स्थानीय अस्पतालमा र ११ जनाको पटनामा उपचार भइरहेको बिबिसी हिन्दीले जनाएको छ। ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने बताइएको छ।
बिरामी भएकाहरुमध्ये केहीलाई आँखा देख्न बन्द भएको र केहीलाई बान्ता भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना सार्वजनिक भएसँगै छपराका केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरिएको छ।
मंगलबार राति विषाक्त मदिराका कारण केही व्यक्तिहरुको स्वास्थ्यमा समस्या देखिएपछि छपराको सदर अस्पताल भर्ना गरिएको थियो।
बिहार सरकारले राज्यमा मदिरामा प्रतिबन्ध लगाएको भए पनि केही मानिसहरु लुकीछिपी मदिरा सेवन गर्ने गर्छन्।