इरानमा सरकारविरोधी प्रदर्शनकारीलाई मृत्युदण्ड
इरानले सरकारविरुद्ध प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ‘मोहरेबह’ रेभुलुसनरी अदालतले दोषी ठहर गरेका मोहसिन शेकारीलाई बिहीबार बिहान फाँसी दिइएको इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इरानमा मोहसिन शेकारीलाई मृत्युदण्ड दिइएको विरोधमा जर्मनीको राजधानी बर्लिनस्थित इरानी दूतावास अगाडि गरिएको विरोध प्रदर्शन । तस्बिर स् एपी
विरोध प्रदर्शनमा संलग्नलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । उनीमाथि ईश्वरविरुद्ध युद्ध सुरु गरेको आरोप लगाइएको थियो । शेकारीले गत सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेका र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएका अभियोग लगाइएको थियो ।
एक अधिकारकर्मीले उनलाई ‘कुनै प्रक्रियाबिना देखावटी रूपमा गरिएको गत सुनुवाइमा दोषी ठहर गरिएको’ बताएका छन् । ‘अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल र सशक्त प्रतिक्रिया जनाउनुपर्छ,’ नर्वेस्थित इरान मानवअधिकारका निर्देशक महमुद अमिरी–मोगहदमले भने, ‘इरान सरकारले गम्भीर परिणामहरू नभोगेसम्म प्रदर्शनकारीहरूको सामूहिक फाँसी हुने शेकारीको मृत्युदण्डले देखिएको छ ।’
रेभोलुसनरी अदालतका अनुसार शेकारीले सेप्टेम्बर २५ मा तेहरानस्थित सत्तर खान सडक अवरुद्ध पारेका र बासिज अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । बासिज फौज इरानमा दंगा तथा प्रदर्शनहरू नियन्त्रणका लागि प्रयोग गरिन्छ ।
अदालतले नोभेम्बर १ मा शेकरीलाई ‘हत्या गर्ने, आतंक मच्चाउने र समाजको सुरक्षामा खलल पुर्याउने नियतले’ झगडा गरेको एवं हतियार बोकेको आरोपमा दोषी ठहर गरेको थियो । शेकारीले अदालतको फैसलाविरुद्ध अपिल गरेका थिए । तर सर्वोच्च अदालतले पुरानै फैसलालाई सदर गरेको हो । शेकरीलाई सोधपुछ र अन्य कानुनी कारबाहीका क्रममा आफ्ना कानुन व्यवसायीसँग पनि पहुँच नदिइएको इरान मानवअधिकार संस्थाको भनाइ छ । समूहले कट्टरपन्थी फार्स समाचार संस्थाले उनको मृत्युदण्डको केही समयपछि जबरजस्ती लिइएको प्रमाण प्रसारण गरेको थियो । प्रसारित भिडियोमा शेकरीको दाहिने गालामा चोट देखिन्छ ।
रिभोलुसनरी अदालतले ईश्वरविरुद्धको दुश्मनी वा पृथ्वीमा भ्रष्टाचार गरेको आरोपमा अन्य १० जना प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ । ती अभियुक्तहरूको परिचय भने हालसम्म गोप्य राखिएको जनाइएको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनविद्रोहलाई दबाउन र आममानिसमा त्रास सिर्जना गर्न नियोजित रूपमा मृत्युदण्डको सजाय दिइएको जनाएको छ । संयुक्त राष्ट्रसंघले इरानमा मृत्युदण्डको सिलसिलामा डरलाग्दो गरी वृद्धि भइरहेको जनाएको छ । इरानमा सन् २०१७ यता एकै वर्ष ४ सय जनाभन्दा बढीलाई मृत्युदण्ड दिइसकिएको छ ।
धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि इरानमा महिलाहरूको नेतृत्वमा प्रदर्शनहरू सुरू भएका थिए । महसालाई गत सेप्टेम्बर १३ मा विशेष प्रहरीले हिजाब प्रयोगसम्बन्धी कानुन अनुसार हिरासतमा लिएको जनाएको थियो ।
पछिल्ला दिनहरूमा ३१ प्रान्तका १६० सहरमा प्रदर्शनहरू फैलिएका जनाइएको छ । तर अधिकारीहरूले विदेशी शत्रुहरूको उक्साहटमा प्रदर्शनहरू भएका बताउँदै आएका छन् । समाचार संस्था एचआरएएनएका अनुसार हालसम्मका विरोध प्रदर्शनमा ४ सय जनाभन्दा बढीको ज्यान गइसकेको र १८ हजारभन्दा बढी पक्राउ परेका जनाइएको छ । ६१ जना सुरक्षाकर्मी मारिएका जनाइएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा आयोगले भने सुरक्षाकर्मीसहित २ सय जनाको ज्यान गएको जनाएको छ । ‘इरानी महिलाले लामो समयदेखि नरुचाएको कानुन’ विरुद्ध प्रदर्शन चर्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । त्यसका साथै हिजाब कानुन पालना गराउने क्रममा ‘धार्मिक प्रहरीले गरेको ज्यादती, अपमान र दण्ड सजाय’ विरुद्ध पनि इरानी महिलाहरू आक्रोशित भएका जनाइएको छ ।
बासिज अर्धसैनिकले सहयोग गर्ने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले हिजाबसम्बन्धी कानुन कार्यान्वयन गर्दै आएको छ । यसले तोकिएको नियमअनुसार हिजाबको प्रयोग भएरनभएको र शृंगारका सामग्रीको प्रयोगलाई दुरुत्साहन गर्ने काम गर्दै आएको थियो । यद्यपि इरान सरकारले धार्मिक बलको खारेज गरिएको र हिजाबसम्बन्धी कानुनमा हेरफेर गर्न लागिएको जनाइसकेको छ ।एजेन्सी










