बंगलादेशसँग भारत ५ रनले पराजित, एक खेल अगावै गुमायो सिरिज
बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली भारत ५ रनले पराजित भएको छ । यो हारसँगै भारतले सिरिज एक खेल अगावै बंगलादेशलाई सुम्पिएको छ ।
अघिल्लो खेलमा भारत एक विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन मात्र बनाउन सक्यो ।
उसका लागि श्रेयस अय्यर र कप्तान रोहित शर्माले उत्कृष्ट पारी खेले पनि टोलीको हार टार्न सकेनन् । १०२ बलको सामना गरेका अय्यरले ६ चौका र तीन छक्कासहित सर्वाधिक ८२ रन बनाए । रोहितले २८ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५१ रनको आक्रामक पारी खेले । चोटका बाबजुद पनि उनले उत्कृष्ट पारी खेलेका हुन् ।
यही खेलमा फिल्डिङका क्रममा रोहितको हातमा चोट लागेको थियो । त्यस्तै, अक्षर पटेलले ५६, केएल राहुलले १४, वासिङ्टन सुन्दर र दीपक चाहरले ११र११ रन जोडे । बंगलादेशका लागि इबादोत हुसेनले तीन, शाकिवअल हसन, मेहदी हसन मिराजले दुईरदुई, मुस्तफिजुर रहमान र महमुदुल्लाहले एकरएक विकेट लिए ।
त्यसअघि मिरपुरस्थित शेरे बंगला राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनायो । उसका लागि मेहदी हसन मिराजले शतकीय पारी खेले । ८३ बलको सामना गरेका उनले आठ चौका र चार छक्काको मद्दतमा अविजित १ सय रन बनाए ।
एकदिवसीय करियरमा मिराजको यो पहिलो शतक हो । त्यस्तै, महमुदुल्लाहले ९६ बलमा सात चौकाको सहयोगमा ७७ रन बनाए ।
नजमुल हुसेन शान्तोले २१, नसुम अहमदले अविजित १८, मुस्फिकुर रहिमले १२ र अनामुल हकले ११ रन जोडे । भारतका लागि वासिङ्टन सुन्दरले तीन, उमरान मलिक र मोहम्मद सिराजले दुईरदुई विकेट लिए ।
योसँगै तीन खेलको सिरिजमा बंगलादेशले २–० को अग्रता लिएको छ । भारत–बंगलादेशबीचको तेस्रो एकदिवसीय शनिबार हुनेछ ।









