एमाले प्रदेश सभा उम्मेदवारलाई पैसा बाँडेको आरोप, निराधार आरोप भन्दै प्रमाण ल्याउन चुनौती
नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । काठमाण्डौ ५ प्रदेश ‘ख’ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
निरौला र एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोल बूढानीलकण्ठ–६ मा रहेको एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले स्थानीय बासिन्दाको भिडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखेको बताएको छ ।
स्थानीय बासिन्दाले पैसा बाँडेको आरोप लगाए पनि पैसा बरामद नभएको प्रहरीले जनाएको छ । उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिनुभएको छ । प्रहरीले निराैलालाई गएराति नै छाडिसकेकाे छ ।
नेकपा एमाले निर्वाचन परिचालन कमिटी, काठमाण्डौ क्षेत्र नम्बर–५ ले विज्ञप्ति निकालेर क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने काम भएको जनाएको छ ।