मकवानपुरमा काङ्ग्रेस नेता चढेको गाडिमा विप्लव समुहको तोडफोड
हेटौंडा:मकवानपुर २ को (ख) का गठबन्धनबाट उम्मेदवार इन्द्रबहादुर बानियाँ चढेको गाडीमा तोडफोड भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले उम्मेदवार बानियाँ चढेको गाडीमा हेटौँडा उपमहानगरपालिका–१९ दालिमटार नजिक पूर्वपश्चिम राजमार्गमा तोडफोड गरेको हो । बानियाँको गाडीमाथि तोडफोड भएको घटनाबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताए पनि नेकपा मकवानपुरले विज्ञप्ति जारी गरेर बानियाँमाथि कारबाही गरेको जनाएको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले गाडी तोडफोडको विषयमा कुनै जानकारी नभएको बताए । ‘मलाई जानकारी छैन । एसपी सरलाई जानकारी भए मलाई थाहा छैन,’ कार्कीले सन्चारकर्मी संग भने । नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँलाई उनी चढ्ने गाडीमा तोडफोड गरेर कारबाही गरेको नेकपा मकवानपुरले विज्ञप्तिमा जनाएको छ । नेकपा मकवानपुरको लेटरप्याडमा उदिप सीद्वारा जारी विज्ञप्तिमा बानियाँ चढेको गाडीमाथि तोडफोड गरेर कारबाही गरिएको भन्दै बानियाँलाई कारबाही किन ? भनेर उल्लेख गरिएको छ ।
बानियाँमाथि नेकपा मकवानपुरले गिङु खानीमा स्थानीय जनताको मुआब्जा बिना र अदालतको निर्णय विपरीत खानी सञ्चालन गरेको, जनताको हित विपरीत शिवम् सिमेन्टको खानीको ढुङ्गा उत्खनन गरी ढुवानी गरेको, चुनावका लागि पैसा खर्च गरेर मतदाता खरिद गरेको आरोप लगाएको छ । बानियाँलाई यसअघि मनहरी गाउँपालिकामा आफ्नै पार्टीका कार्यकर्ताले कालो झण्डासमेत देखाएका थिए।