चीनसँग नयाँ शीतयुद्ध नहुने बाइडेनको वाचा, ताइवानको विषयमा ‘स्पष्ट जवाफ दिएनन्’
अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग नयाँ शीतयुद्ध नहुने वाचा गरेका छन्। जी-२० शिखर सम्मेलनअघि सोमबार इन्डोनेसियामा भएको वार्तापछि पत्रकार सम्मेलनमा बाइडेनले अमेरिका र चीनबीच सम्बन्ध सुधारका सकारात्मक पहल भइरहेकाले नयाँ शीतयुद्ध नहुने बताएका बीबीसीले जनाएको छ ।
उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए । बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो। एक लग्जरी होटलमा भएको तीन घण्टा लामो भेटमा नेताहरूले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए। वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए। छलफलमा ताइवानको विषयलाई लिएर पनि दुवै नेताले लामो कुराकानी गरेका छन् । ताइवानले अमेरिकालाई सहयोगीको रूपमा गन्दछ र हतियारको समेत कारोबार गर्छ ।
गत अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो। त्यसको जवाफमा चीनले ताइवानको वरिपरि ठूलो मात्रामा सैन्य अभ्यासको साथ प्रतिक्रिया दिएको थियो । जसले अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो।केहिदिन अघि मात्र अमेरिकी अधिकारीहरूले चीनले ताइवानमाथि आक्रमण गर्ने योजना बढाउन सक्ने चेतावनी दिएका थिए
“म पूर्ण रूपमा विश्वास गर्छु कि नयाँ शीतयुद्ध हुनु आवश्यक छैन। मैले सी जिनपिङसँग धेरै पटक यो विषयमा कुरा उठाएको छु । हामी एकअर्कासँग स्पष्ट थियौं। मलाई लाग्दैन कि चीनले ताइवानमा आक्रमण गर्ने कुनै योजना बनाइरहेको छ।” उनले भने।
बाइडेनले दुई देशको बीचमा रहेका समस्यालाई शान्तिपूर्ण हिसाबले समाधान गर्नुपर्नेमा सबै सहमत रहेको पनि बताए।दुई नेताहरू एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन् । समस्याहरू समाधान गर्न सरकारका मुख्य तहहरूमा वार्ता हुनेछ। विदेश सचिव एन्टोनी ब्लिन्केन पनि छिट्टै चीन भ्रमणमा जाने बाइडेनले बताएका छन् । बाइडेनले ताइवान नीतिमा कुनै परिवर्न नआएको पनि स्पष्ट पारेका छन् ।
पहिले जुन नीति थियो त्यसैमा स्पष्ट रहेको बताएका बाइडेनले एक चीन नीति र चीनले ताइवानमा आक्रमण गरेमा अमेरिकाले रक्षा गर्छ कि गर्दैन भन्ने प्रश्नको भने स्पष्ट जवाफ दिएनन् ।










