नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता

कोल्हवी न्यूज
२०७९ कार्तिक १४, सोमबार ०७:३५ गते

नेपालगन्ज म्याराथनले विश्व म्याराथनको नियमनकारी निकाय एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को सदस्यता प्राप्त गरेको छ । एम्समा नेपालबाट आबद्ध हुने सम्भवतः नेपालगन्ज म्याराथन पहिलो हो । एम्सको सदस्यतासँगै यो विश्वव्यापी सन्जालभित्र प्रवेश गरेको छ ।

वर्ल्ड एथलेटिक्सअन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा १ सय १५ देशका ४ सय ५३ रेस आयोजक सदस्य छन् । नेपालगन्ज म्याराथन आयोजना एवं स्तरीयसम्बन्धी आवश्यक कागजातसहित सम्पूर्ण प्रक्रिया पूरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो ।

गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५ किमि, २१.०९७५ किमि, १० किमि र ५ किमिको अलग–अलग प्रमाणपत्र प्राप्त गरेको छ । अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्ज म्याराथनको बजारीकरण एवं प्रवर्द्धन गर्न एम्सले सघाउने नेपालन्ज म्याराथनका संस्थापकरअध्यक्ष टीएस ठकुरीले जानकारी दिए । सदस्यता प्राप्त गर्न सफल भएकामा नेपालगन्ज म्याराथन आयोजकलाई एम्सका प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगन्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् । ‘म तपाईं र तपाईंको टिमको रेसको पूर्ण सफलताको कामना गर्दछु,’ बोराओले पत्रमा भनेका छन्, ‘तपार्इंहरूको यात्रामा हाम्रो एसोसिएसन एक महत्त्वपूर्ण योगदानकर्ता रहनेछ ।’

एम्समा आबद्धताले नेपालगन्ज म्याराथनमात्र नभई समग्र नेपाली म्याराथन तथा रोड रेस धावक तथा प्राविधिक लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपालगन्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीको दाबी छ ।

संसारमा लामो इतिहास बोकेका प्रतिष्ठित म्याराथनमा सहभागिताका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ । विदेशी पर्यटकका लागि नेपालगन्ज म्याराथन नयाँ गन्तव्य हुने आस गरिएको छ । नेपालको व्यावसायिक घराना केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेसँगै धारा नेपालगन्ज म्याराथन नामकरण भएको हो । नेपाल सरकार र विद्रोही पक्षबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष मंसिर ४ मा चुनाव हुने भएकाले मंसिर २४ गते सारिएको आयोजकले जनाएको छ ।इकान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*