‘नालापानी’ हेरेपछि दीपकदेखि दीपासम्मले गरे प्रशंसा

कोल्हवी न्यूज
२०७९ कार्तिक ६, आईतवार ०८:१३ गते

नेपालको गौरव गाथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ तिहारको छेको पारेर शुक्रवारबाट प्रदर्शनमा आएको छ । प्रदर्शन भएसँगै फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ भने शुक्रवार काठमाडौंमा भएको विशेष शोमा कलाकारहरुले पनि फिल्मको प्रशंसा गरेका छन् । अभिनेता दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, कलाकार निर्मल शर्मालगायतले फिल्म हेरेका थिए ।

अभिनेता रमेश उप्रेतीले वीर पुर्खाहरुको योगदानलाई सम्मान गर्नका लागि पनि एकपटक फिल्म हेर्नुपर्ने बताए । फिल्म हेर्दा नेपाली भनेर गौरव महशुस हुने उनको भनाई छ । उप्रेतीले पुस्तकमा पढ्दा थाहा नभएका कयैन् कुराहरु फिल्ममा देख्न सकिने बताए ।

निर्देशक दीपाश्री निरौलाले आफूले मुटु दह्रो बनाएर फिल्म हेरेको बताइन् । उनले भनिन्, ‘ऐतिहासिक कुराहरुलाई फिल्ममा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ । यसलाई व्यापक बनाउन हामी सबैले साथ दिनुपर्छ ।’

अभिनेता दिपकराज गिरीले ‘नालापानी’लाई आँखाले नभई मनले हेर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो यति गर्विलो इतिहास हुँदा हुँदै पनि हामीले चाहेको जसरी ति कथाहरुलाई पर्दामा देखाउन सक्दैनौँ । यो चलचित्रको निर्माणपक्षले त्यो प्रयास गरेको छ जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ ।’

निर्देशक उज्ज्वल घिमिरेले फिल्मले नालापानी युद्दको कथालाई न्याय गरेको भन्दै प्रशंसा गरे । निर्माता अशोक शर्माले नेपालमा बनेका थुप्रै ऐतिहासिक फिल्महरु भन्दा ‘नालापानी’ धेरै राम्रो बनेको बताए । यो फिल्मलाई लाई मनोरञ्जनको रुपमा मात्र हेरिनु नहुने उनको जिकिर छ । उनले भने, ‘आज हामी नेपाली भनेर बाँच्ने आधार कसरी बनेको थियो भन्ने थाहा पाउन हरेक नेपालीले यो फिल्म हेर्नैपर्छ ।’

कलाकार निर्मल शर्माले आफुले तीनपटक ‘नालापानी’ हेरेको बताए । उनले एक नेपाली हुनुको गर्व, राष्ट्रियताको कुरा र आफ्नो भुमि रक्षाको लागि त्यो समयमा नेपाली सेना र बलभद्रले गरेको साहसलाई बिर्सन नदिने गरी फिल्म बनेको हुँदा पाठ्यक्रमको एउटा सामग्रीको हिसाबले राखिनुपर्ने विचार राखे ।

नेपाल अङ्ग्रेज युद्धका बडाकाजी अमरसिंह थापाको भूमिका निर्वाह गरेका अभिनेता अर्जुनजंग शाहीले यस फिल्ममा निर्देशक रिमेश अधिकारीको मेहनतको प्रशंसा गरे । अभिनेत्री पुजना प्रधानले दर्शकले आफ्नो इतिहास भनेर हेरेको र अत्यन्त मन परेको प्रतिक्रिया पाएको बताईन् ।

ब्रिटिश सेनाका क्याप्टेन बनेका अभिनेता बिशाल पहारीले यो फिल्म हेर्दा त्यो पात्र आफू नै हो भन्ने महशुस नै नगरेको बताए । उनले भने, ‘फिल्म हेरिरहँदा आफैंले निभाएको पात्रलाई साँच्चिकै दुश्मनको रुपमा देखेँ । फिल्म हेर्दा हेर्दै खुकुरी भएको भए पर्दामा नै हानौं जस्तो महशुस भयो ।’

निर्देशक अधिकारीले दर्शकले एकदमै रुचाएको प्रतिक्रिया दिए । उनले आफुले फिल्म बनाएर बोल्नुपर्ने सबै बोलिसकेको र सबै नेपालीले हेर्नुपर्ने बताए । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज(नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमाथि फिल्म बनेको हो ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका ९डेभिड० लगायतको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*