आजदेखि सिनेमा हलमा ‘नालापानी’ र ‘के घर के डेरा’
आज कात्तिक ४ गते शुक्रवारदेखि दुई फरक जनराका नेपाली फिल्म प्रदर्शनमा आएका छन् । रिमेश अधिकारीद्वारा निर्देशित ऐतिहासिक विषयवस्तु बोकेको फिल्म ‘नालापानी’ तथा दीपेन्द्र के खनालद्वारा निर्देशित हास्यप्रधान फिल्म ‘के घर के डेरा’ एकै दिन सिनेमा हलमा प्रदर्शनमा आएका हुन् ।
‘नालापानी’ फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएको छ ।
चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा.डा. धनराज कुँवर, प्रा.डा.त्रिरत्न मानन्धर, प्रा.दिनेशराज पन्त, प्रा.डा.सुरेन्द्र केसी, पूर्व सहायक रथि डा.प्रेम सिंह बस्न्यातहरूसँग पटक-पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका डेभिड, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।
डेरामा बस्नेहरुको डेरावालाहरुको समस्या, घरबेटीहरुले दिने दुःखका साथै घरबेटीहरुकै समेत समस्यामा आधारित यो फिल्ममा काठमाडौंमा घर हुने र नहुनेहरुको समस्या उठान गरेको छ । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ ।
‘के घर के डेरा’ लाई मल्टिप्लेक्सले उच्च शो दिएको छ । नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ३८ शो दिएको छ । त्यस्तै, वान सिनेमाजले ६, रञ्जना सिनेप्लेक्सले ४, बिग मुभिजले ३, आईएनआई सिनेमाजले ६, बिएसआर मुभिजले ३, एफक्युबले ३ र सिडिसी सिनेमाले भने अहिलेसम्म अग्रीम टिकट बुकिङकको लागि शोज बाँडफाँड गरिसकेको छैन् ।
यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिंगे लामाको कथा रहेको यो फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।










