गणेश पाण्डेको ‘सहायक श्रीमान’ले अमेरिकामा जित्यो अवार्ड
कोल्हवी:नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ।
अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलको अन्तिम दिन आज भएको अवार्ड समारोहमा ‘को–हजबेण्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो । अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताउनुभयो।
‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’ आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिवलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपालि ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका थिए।
यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो!पाण्डे प्रेस चौतारी नेपालको केन्द्रिय उपाध्यक्ष समेत हुन!साभार: खसोखास










