थाहा नगरको जनकल्याण माबिले प्रथम शैक्षिक मेला गर्ने

राज कुमार के.सी.मकवानपुर
२०७९ असार २७, सोमबार १७:३९

थाहा:मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले “प्रथम जनकल्याण शैक्षिक मेला–२०७९”आयोजना गर्ने भएको छ ।
जनकल्याण माबिको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना गर्न लागेको बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताउनुभयो ।थाहा नगरमा रहेका बिद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मीहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले नगर भित्रका बिद्यालयहरु बीच शैक्षिक गुणस्तर मापन, बिद्यार्थीहरुको क्षमता बिकास र शैक्षिक ज्ञान आदानप्रदान गर्नका लागि शैक्षिक मेला फलदायी हुने बताउनुभयो!
अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक कार्कीले यही असार ३० र ३१ गते जनकल्याण माबि प्राङ्गणमा हुने शैक्षिक मेलामा सहभागी हुन थाहानगरका सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार लगायत सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
एसइइ दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि बिषय छनौट गर्न सहज वातावरण बनाई विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गरि नगर भित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने बिद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले बताउनुभयो ।
शैक्षिक मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा बिज्ञान प्रदर्शनी प्रतियोगिता हुने सहायक प्रधानाध्यापक रायमाझीले बताउनुभयो । रायमाझीले विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिने समेत बताउनुभयो ।
मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहने, बिद्यार्थीको सीप परीक्षण, निशुल्क माटो परीक्षण सिविर, प्लान्ट क्लिनिक समेत रहेको आयोजकले जनाएकोछ ।२०२५ सालमा स्थापना भएको थाहा नगरको अग्रणी शैक्षिक संस्था जनकल्याण माबिमा हाल बिज्ञान, बालीबिज्ञान(कक्षा ९–१२), ब्यबस्थापन, शिक्षा, मानविकी र कृषि बिषयको तीन बर्षे स्नातक तहको अध्ययन अध्यापन भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*