सर्बोच्च अदालतको निर्णय बिरुद्ध बारामा बिरोध शुरु
कोल्जवी:सर्वोच्च अदालतले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अघि नबनाउन गरेको आदेशप्रति बारामा विरोध सुरु भएको छ ।
फैसलालगतै नेकपा (माओवादी केन्द्र)ले निजगढमा नाराबाजीसँगै राँके जुलुश गर्दै शुक्रबार स्थानीय युवा, विद्यार्थीहरूले निजगढमा चक्काजाम गरेर विरोध थालेको हो ।
निजगढस्थित विभिन्न संघ संस्था राजनीतिक दलले विरोधका कार्यक्रम अभियानकै रूपमा लैजाँदै पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका छन् ।
वातावरण संरक्षणको नाममा अमुक शक्तिमार्फत सर्वोच्च अदालतबाट आदेश गराइएको भन्दै जिल्लाका अन्य स्थानमा समेत विरोध प्रदर्शन भएको छ ।
गत महिना विमानस्थल परियोजनाको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नागरिक उड्ययनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेका थिए ।परियोजनाको मुख्य केन्द्रमा रहेको टागीया बस्तीम मन्त्री आलेले आगामी आर्थिक वर्षको सुरुवातमै बस्ती स्थानान्तरण हुने जानकारी गराउनुभएको थियो ।
२०५१ सालमा देशभर गरिएको विस्तृत अध्ययनबाट टुंगो लागेको निजगढमा विमानस्थल निर्माणका लागि ११० बिघा जग्गाको मुआब्जा प्राधिकरणले दिइसकेको छ ।
विमानस्थलले चर्चेको चार किल्ला भित्रको वन क्षेत्र सिमाङ्कन गरी रुख गणनाको समेत काम सकिएको छ भने पसाह खोलामा तटबन्धन लगाएतका निर्माण सुचारु अवस्थामै रहेको छ ।
निर्णय नसच्चिएसम्म नियमित आन्दोलन भइरहने एयरपोर्ट निर्माण तथा मुल व्यवस्थापन सरोकार समितिका संयोजक रविराज दङ्गालले बताउनुभयो ।
विमानस्थल आयोजनाका लागि अहिलेसम्म साढे ३ अर्बभन्दा बढी रकम खर्च भइसकेको थियो ।साभर: ईमेज खबर बाट










