निर्वाचन अधिकृतको कार्यालयले निकाल्यो कोल्हवीको तथ्यांक सहित निर्वाचन गर्ने तरिका
कोल्हवी:बारा जिल्ला अन्तर्गत कोल्हवी नगरपालिकामा मतदाताको तथ्यांकीय विवरण सहित निर्वाचन गर्दा मत पत्र सदर र बदर कसरी हुन्छ भन्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ।
•कूल मतदाता संख्याः २८९८६ (महिलाः १४२४३, पुरूषः १४७४१, अन्यः २)
•कूल मतदान स्थलः २५
•कूल मतदान केन्द्रः ३९
सबैभन्दा कम मतदाता भएकोः ने.रा. आधारभूत विद्यालय खग्दे (२४७ जना)
सबैभन्दा बढी मतदाता भएकोः ने.रा.आ.वि., बेलवा, धोधरपा (१०७० जना)
४४१ जना मतदाता भएको ब्रम्ह्स्थान सोनाभारको मतदान केन्द्र खुल्ला मतदान केन्द्रको रूपमा व्यवस्थापन गर्नु पर्ने। बाँकी सबै मतदान केन्द्रहरू सरकारी भवनमा रहेको।
•सबैभन्दा कम मतदाता भएको वडाः वडा नं. ३ (१८४५ जना)
•सबैभन्दा बढी मतदाता भएको वडाः वडा नं. १ (४८०४ जना)
•सबैभन्दा धेरै मतदान केन्द्र वडा नं १ मा रहेको (६ वटा)
•३० गतेको निर्वाचनबाट चुनिने जम्मा पदाधिकारीः ५७ जना
यसैगरी २०७९ बैशाख २२ गते बसेको सर्वपक्षीय बैठकमा
निर्वाचन अधिकृतको कार्यालय कोल्हवीमा विभिन्न दलका प्रतिनिधिहरू, स्वतन्त्र उम्मेदवारहरू, सबै सुरक्षा निकाय एवं स्थानीय प्रशासनका प्रतिनिधिहरू सहितको सर्वपक्षीय बैठक बस्यो।
बैठकले मनोनयन चरणलाई उत्साहजनक, सौहार्द एवं शान्तिपूर्व वातावरणमा सम्पन्न गर्न सघाउ पुर्याएकोमा सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ।आचारसंहिता परिपालना तथा निर्वाचनका आगामी क्रियाकलापहरूलाई सहभागितामूलक र समन्वयात्मक ढंगले व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।मतगणना निर्वाचन अधिकृतको कार्यालय रहेकै भवनको दुई वटा कोठामा एकै पटक दुई टोलीले गणना गर्ने गरी तयारी भैरहेको छ। यसका लागि चार वटा टोली बनाईने, दुई टोलीले मतगणना गर्ने र दुई वटा टोलीलाई ब्याकअपमा पालो दिने गरी व्यवस्था गर्ने तयारी भएको छ। मतगणनामा एक सिफ्टमा एक दलबाट एक जना मतगणना प्रतिनिधि रहने व्यवस्था मिलाइने छ।
कस्तो मत बदर हुन्छ?
बारा जिल्लाको मतपत्रमा ४८ लहर छन्। मतदाताहरू अलमलिने जोखिम छ। देहायका विषयमा मतदाताहरूलाई सुसूचित गराउनु पर्ने देखिन्छः
१.मतदान अधिकृतको दस्तखत नभएको
२.औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको,
३.मत सङ्केत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको,
४.उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
५.उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको,
६.निर्वाचित गर्नुपर्ने सङ्ख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
७.एकभन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत सङ्केतको चिन्ह पर्ने गरी मत सङ्केत गरिएको,
८.मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
९.कुनै पनि उम्मेदवारको निर्वाचन चिन्हमा मत सङ्केत नगरिएको,
१०.आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
११.मतपेटिकाभन्दा बाहिर राखिएको,
१२.जाली मतपत्र,
१३.मतपत्रभित्र रूपैयाँ, कागज वा अन्य कुनै बस्तु संलग्न गरेको,
१४.पट्ट्याइएको एउटा मतपत्रभित्र अरू मतपत्र समेत एकसाथ पट्याएको,
१५.उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा र निर्वाचन चिन्ह रहेको कोठाभन्दा बाहिर वा मतपत्रको अन्य कुनै भागमा समेत मतसङ्केत गरेको, (उदाहरणार्थः निर्वाचित गर्नु पर्ने सबै वा केही पदमा सही ढङ्गबाट मत सङ्केत गरेको भए तापनि त्यस्तो मत सङ्केतको अतिरिक्त निर्वाचन चिन्ह रहेको कोठाभन्दा बाहिर वा मतपत्रको अन्य कुनै भागमा समेत मत सङ्केत गरेको रहेछ भने त्यस्तो मतपत्र पूरै बदर गर्नु पर्ने हुन्छ।
१६.आयोगले बदर हुने भनी तोकेको मतपत्र।
१७.एउटै कागजको सिटमा एकभन्दा बढी पदको मतपत्र रहेको र कुनै पदको मतपत्रबाट एकजना उम्मेदवार मात्र निर्वाचित हुने अवस्थामा जुन पदको मतपत्र बदर हुने हो त्यस्तो मतपत्र मात्र बदर गरी अन्य पदको मतपत्र सदर हुने अवस्थाको भएमा सदर गरी मत गणना गर्नु पर्नेछ ।
१८.कुनै पदको लागि निर्वाचित गर्नुपर्ने सङ्ख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा वा निर्वाचित गर्नुपर्ने सङ्ख्या भन्दा बढी हुने गरी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठा र उम्मेदवार नरहेको चिन्ह भएको कोठामा छुट्टा छुट्टै मत सङ्केत गरिएकोमा त्यस्तो मत बदर गर्नु पर्नेछ ।(उदाहरणार्थः अध्यक्ष वा प्रमुखको पदमा एकजना निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिन्ह रहेको कुनै दुईवटा कोठामा मत सङ्केत गरिएकोमा सो पदको मत बदर गर्ने तथा वडा सदस्य पदमा दुईजना निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिन्ह भएका दुईभन्दा बढी कोठामा मतसङ्केत गरिएकोमा सो पदको मत बदर हुने।)
१९.दुईजना वडा सदस्य निर्वाचित हुने मतपत्रमा एकजना उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा सही ढङ्गबाट मत सङ्केत भएको र अर्को निर्वाचन चिन्हमा बदर हुने गरी मत सङ्केत भएकोमा सही ढङ्गबाट मतसङ्केत भएको मत सदर गरी अर्को मत बदर गर्नु पर्ने हुन्छ।
मतपत्रमा कसरी छाप लगाउने?
१.प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य र दलित महिला वडा सदस्य रहेको हरेक लहरमा चिन्ह पहिचान गरी एक एक चिन्हमा मत संकेत गर्दै जाने
२.दुई वटा वडा सदस्य रहेको लहरमा कुनै दुई वटा चिन्ह पहिचान गरी मत संकेत गर्ने। यस्तो मत ठाडो, तेर्सो वा क्रस जस्तो भए पनि दुई वटामा विधिपूर्वक संकेत गर्दा बदर हुँदैन।
यस विषयमा निर्बाचन अधिकृत कोल्हवीका प्रमुख रमेश श्रेष्ठले कोल्हवी को तथ्यांककिय जानकारी सहित निर्बाचनका क्रममा मत पत्र बदर र सदर कसरी हुन्छ भन्ने बिषयमा जानकारी सम्पुर्णमा गराईएको कोल्हवी न्युज लाई बताउनु भएको छ।









