सगरमाथा आरोहणमा जाँदै गायक राजु लामा र अभिनेत्री दिया पुन, ‘क्याम्प २’ मा कन्सर्ट

कोल्हवी न्यूज
२०७८ चैत्र २१, सोमबार १६:०५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ गरेका छन्।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिएका हुन्। आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला। आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौं,’ उनले भने।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन लामा र पुनले हिमाल आरोहण गर्न लागेको बताए।

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए। जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको बताइन्।

‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवद्र्ध्न गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु। विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ,’ लामाले भने।

लामा चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*