त्रिदेशीय शृंखलाः मलेसियाविरुद्ध खेल्दै नेपाल

कोल्हवी न्यूज
२०७८ चैत्र १६, बुधबार ०९:०७ गते

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज दोस्रो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । शृंखलामा नेपाल र मलेसिया दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी०लाई हराएका थिए । पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी भएको थियो भने मलेसियाले ८ रनको विजय हासिल गरेको थियो ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः३० बजे सुरु हुनेछ । दुई देशको पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने नेपाल बलियो देखिन्छ । नेपालले चार खेल जितेको छ भने मलेसिया एक खेलमा विजयी भएको छ ।

२०१९ जुलाईमा नेपालले मलेसिया भ्रमण गरेको थियो । दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले क्लिन स्विप गरेको थियो । २०२० फेब्रुअरीमा थाइल्यान्डको बैंककमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगितामा भने नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।

गत वर्ष काठमाडौंमै सम्पन्न नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय शृंखलामा भने नेपालले दुबै खेल जितेको थियो । कीर्तिपुरमा नेपालले पहिलो खेल ९ विकेटले जितेको थियो भने दोस्रो खेलमा ६९ रनको विजय हासिल गरेको थियो ।

उक्त त्रिदेशीय शृंखलापछि मलेसियाले पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेको हो । नेपालका कप्तान सन्दीप लामिछानेले मलेसियाले एक वर्षपछि खेल्न लागेको भए पनि आफूले कमजोर नआक्ने बताएका छन् ।

‘‘मलेसियाले एक वर्षसम्म प्रतिस्पर्धात्मक खेल खेलेको छैन भन्ने सुनेको छु,’’ सन्दीपले मलेसियाविरुद्धको खेलबारे भने, ‘‘तर हामी उहाँहरूलाई सहज रूपमा लिदैनौँ ।’’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*