मकवानपुरबाट २ क्विन्टल गाँजासहित पाँच पक्राउ
मकवानपुरमा गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरी बस्ने २८ वर्षीय अरविन्द नेपाली, राप्ती नगरपालिका-११ का ५५ वर्षीय सञ्चबहादुर थिङ्ग, मनहरी गाउँपालिका-३ का ५३ वर्षीय बुद्धिबहादुर थिङ्ग रहेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
यसैगरी रोराङ्ग गाउँपालिका-२ बस्ने ३० वर्षीय मान बहादुर चेपाङ्ग र सोही स्थान बस्ने ३९ वर्षीय सन्त बहादुर चेपाङ्ग पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
प्रहरीले प्र। ३-०१-०२३ च ५६४० नम्बरको पिकअप गाडी चेक गर्ने क्रममा १६५ किलो ८०० ग्राम गाँजा फेला पारेको हो। प्रहरीले नेपालीलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।
उनका अनुसार मनहरी गाउँपालिका-६ स्थित लोथर खोला हुँदै खयरघारीतर्फ शंकास्पद रूपमा भारी बोकी गइरहेको अवस्थामा मान बहादुर, सन्त बहादुर, बुद्धि बहादुर र सञ्च बहादुरको भारीबाट १०० किलो गाँजासहित नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।