नेपाल अर्थतन्त्र: श्रीलङ्काको अवस्थाबाट यसकारण चिन्तित हुनुपर्छ
ऋण तिर्न नसकेर झन्डै टाट पल्टिएको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा अचेल सेना खटाएर पेट्रोल बाँडिदैछ।
विदेशी मुद्रा सञ्चितीको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको उसको समस्या अब चर्को महँगी र अत्यावश्यक सामग्रीको अभावमा पुगेर आम पीडाको विषय बनिसकेको छ।
तुलनात्मक समृद्ध र केही वर्षयता स्थिर श्रीलङ्कामा अचानक आइपरेको आर्थिक सङ्कटले अचेल धेरै नेपालीहरूलाई झस्काइरहेको छ।
के अब नेपाल पनि श्रीलङ्काकै मार्गमा हिँडिरहेको हो? भन्ने जस्ता प्रश्न चियापसलका गफहरूमा मात्र सीमित छैनन् बरु अग्रणी अर्थविद्हरूले नै सतर्क रहन चेतावनी दिन थालिसकेका छन्।
नेपालको निर्यात अहिलेसम्मकै बढी, तर :यो खुसी हुने कुरा होइनु किन?
भारतीय अर्थतन्त्रमा सुस्तीस् नेपालमा पर्न सक्ने ५ गम्भीर असर
श्रीलङ्कामा किन खाद्य सामग्री सङ्कट छ?
नेपालको तस्बिर
समष्टिगत सूचक भनिने अर्थतन्त्रको स्वास्थ्य दर्शाउने केही सूचकहरू यो आर्थिक वर्षको सुरुदेखि नै निरन्तर खस्किरहेको केन्द्रीय ब्याङ्कको मासिक विवरणहरूले देखाइरहेका छन्।
सबभन्दा चिन्ताजनक अवस्था विदेशी मुद्रा सञ्चितीको प्रवृत्तिमा देखिएको विज्ञहरू बताउँछन्।
असार मसान्तमा आइपुग्दा देशको ढुकुटीमा १० महिनाको वस्तु र सेवा आयात धान्ने परिमाणमा अमेरिकी डलर थियो। त्यो अहिले खस्किएर पुग नपुग ७ महिनामा झरेको छ।
करिब ११ अर्ब ७५ करोड डलरको सञ्चिती माघ मसान्तसम्म आइपुग्दा ९ अर्ब ७५ करोड डलरमा खस्किएको छ।










