युरोपेली च्याम्पियन इटाली विश्वकप छनोटबाट बाहिर
युरोपेली च्याम्पियन इटाली लगातार दोस्रो पल्ट विश्वकप छनोटबाट बाहिरिएको छ । इटाली युरोपेली विश्वकप छनोटमा बिहीबार नर्थ मेसेडोनियासँग १–० ले पराजित रह्यो र प्ले अफमा पुग्न असफल रह्यो ।
पोर्चुगल, वेल्स र स्विडेन भने प्ले अफका लागि छनोट भएका छन् । पालेर्मोमा भएको खेलमा चार पल्टको विश्वकप विजेता इटालीविरुद्ध खेलको अन्त्यतिर एलेक्सान्डर ट्राज्कोस्भ्कीले निर्णायक गोल गरे र त्यसपछि इटालीसामु खेलमा फर्कने अवसर पनि रहेन् ।
इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल रहेको थियो र त्यति बेला प्ले अफमा स्विडेनसँग पराजित रहेको थियो । इटालीले नौ महिना अगाडि मात्र युरो जितेको थियो ।
बिहीबारका अन्य खेलमा पोर्चुगलले टर्कीलाई ३–१, स्विडेनले चेक गणतन्त्रलाई १–० र वेल्सले अस्ट्रियालाई २–१ ले हरायो ।










