विश्वराज राई बने वंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष
हेटौंडा । हेटौंडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा विश्वराज राई चयन भएका छन्। शनिबार सम्पन्न छैटौँ क्याम्पस सभाले राईको अध्यक्षतामा आठ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पूर्णभद्र चौलागाईं तथा सदस्यहरूमा पुष्पराज अधिकारी, उदय बिडारी, विक्रम सञ्जेल, शुभद्रा तिमल्सिना, भरत सापकोटा र समाधान सापकोटा चयन भएका छन्। क्याम्पस सञ्चालक समिति १३ सदस्यीय हुने र बाँकी पाँच सदस्य मनोनित गरिने व्यवस्था रहेको छ।
अध्यक्ष राईले क्याम्पसको संस्थागत तथा शैक्षिक विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सोही अवसरमा क्याम्पसको नवनिर्मित भवनको उद्घाटनसमेत गरिएको थियो।
बागमती प्रदेश सांसद् एकालाल श्रेष्ठले भवन उद्घाटन गर्दै शिक्षालाई रोजगारीसँग जोड्न सके विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या घटाउन सकिने बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।
क्याम्पसमा हाल १७५ विद्यार्थी अध्ययनरत छन्। रु ७५ लाखको लागतमा दुईतले पाँचकोठे नयाँ भवन निर्माण गरिएको क्याम्पसले जनाएको छ।










