मधेस जनलोकपाल आयोगले एक वर्षमा १५ मुद्दा फैसला
मधेस प्रदेशमा जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/८३ मा अनियमितता तथा भ्रष्टाचारसम्बन्धी १५ वटा मुद्दा फैसला गरेको छ।
आयोगका अनुसार सो अवधिमा अनियमितता तथा भ्रष्टाचारसम्बन्धी ५१ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये अध्ययन तथा छानबिनपछि १५ वटा उजुरीमा फैसला गरिएको हो।
आयोगका सूचना अधिकारी प्रसन्नराज कर्णका अनुसार फैसला भएका मुद्दा आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गाल, काठमाडौं पठाइएको छ। बाँकी उजुरीमाथि छानबिन जारी रहेको उनले जानकारी दिए।
स्थापनाकालदेखि नै न्यून जनशक्ति तथा भौतिक संरचनाको अभावलगायत समस्या झेल्दै आएको जनलोकपाल आयोगले सीमित स्रोतसाधनबीच उजुरीमाथि छानबिन र फैसला गर्दै आएको जनाएको छ।










