मधेशका १० पालिकामा किसानका खेतसम्म आधुनिक प्रविधि पुर्‍याइने : मन्त्री गीता चौधरी

कोल्हवी न्यूज
२०८३ श्रावण ९, शनिबार १६:५२ गते

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको खेतबारीमै आधुनिक कृषि प्रविधि र प्राविधिक सेवा पुर्‍याउने उद्देश्यले कम्तीमा १० वटा पालिकामा नमुना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताएकी छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको छलफलका क्रममा मन्त्री चौधरीले नमुना कार्यक्रम सञ्चालनका लागि उपयुक्त पालिका छनोट गर्न प्रदेश सरकारसँग आग्रह गरेकी हुन्। उनले कागजी योजना र नीतिमा मात्र सीमित नभई कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिने बताइन्।

प्रयोगशाला तथा अनुसन्धानबाट प्रमाणित प्रविधिलाई किसानको खेतसम्म पुर्‍याएर कृषि उत्पादन बढाउनु मन्त्रालयको मुख्य लक्ष्य रहेको उनको भनाइ छ। छनोट हुने पालिकामा प्राविधिक परामर्श, तालिम, उत्पादन वृद्धि गर्ने उपकरण तथा प्रविधि हस्तान्तरणका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरिनेछ।

मन्त्री चौधरीले रासायनिक मल र विषादीको अत्यधिक प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षणका लागि प्राङ्गारिक खेतीलाई विशेष प्राथमिकता दिइने बताइन्। सुरक्षित खाद्यान्न उत्पादन र दिगो कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा उनले जोड दिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*