वीरगञ्जमा आज गहवामाईको ऐतिहासिक रथयात्रा, सुरक्षा कडा र विद्यालय बन्द
वीरगञ्जस्थित श्री गहवामाई मन्दिरको चौथो ऐतिहासिक रथयात्रा आज भव्य रूपमा आयोजना हुँदै छ। रथयात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ।
रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित भीड व्यवस्थापनलाई ध्यानमा राख्दै वीरगञ्ज महानगरपालिकाले आजका लागि निजी तथा सामुदायिक विद्यालयमा बिदा दिएको छ।
गहवामाई मन्दिरबाट सुरु हुने रथयात्रा वीरगञ्जका विभिन्न मुख्य सडक र क्षेत्रको परिक्रमा गर्दै सम्पन्न हुनेछ। यसैबीच, वीरगञ्ज आसपास क्षेत्रमा लगातार वर्षा भइरहेकाले रथयात्रामा केही प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
यद्यपि प्रतिकूल मौसमका बाबजुद पनि रथयात्रामा सहभागी हुन श्रद्धालुहरू बिहानैदेखि मन्दिर परिसरमा भेला हुने क्रम जारी रहेको छ। आयोजकले धार्मिक उत्सवलाई मर्यादित, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबैसँग सहयोगको अपिल गरेका छन्।










