मनसुन सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई नजिक तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ।
आज कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा मधेश, कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।










