नेप्सेमा लगातार दोस्रो दिन हरियाली, १४ अंकले बढ्दा कारोबार रकम घट्यो
नेपाली शेयर बजारमा लगातार दोस्रो दिन सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २ हजार ५९०.२९ विन्दुमा पुगेको हो।
आज म्युचल फन्ड र लगानी समूहबाहेक सबै उपसूचक हरियो रहे। विशेषगरी विकास बैंक र निर्जीवन बीमा समूहका उपसूचक एक प्रतिशतभन्दा बढीले बढेका छन्।
कारोबार भएका कम्पनीमध्ये १९६ कम्पनीको शेयर मूल्य बढ्दा ५९ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।
व्यक्तिगत कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य झन्डै १३ प्रतिशतले उकालो लागेको छ। समग्र बजार बढेको दिन उपकार लघुवित्तको शेयर मूल्य भने ७.३२ प्रतिशतले घटेको छ।
बजार परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ। मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३६२ कम्पनीका ८४ लाख ७३ हजार कित्ता शेयर ४ अर्ब १७ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ।










