अब नेपाल प्रहरीलाई महिनामा दुई पटक तलब
काठमाडौं । नेपाल प्रहरीका राष्ट्रसेवक कर्मचारीहरूले अबदेखि महिनामा दुई पटक अर्थात् अर्धमासिक रूपमा तलब–भत्ता पाउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था लागू गरिने भएको हो। अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार प्रहरी कर्मचारीहरूले हालजस्तै एकै पटक मासिक तलब पाउने छैनन्। यसको सट्टा प्रत्येक १५ दिनको अन्तरालमा तलब–भत्ता भुक्तानी गरिनेछ।
प्रधान कार्यालयले मातहतका सबै बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई सोहीअनुसार आवश्यक तयारी गरी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई समेत आर्थिक प्रणाली र भुक्तानी प्रक्रियालाई नयाँ व्यवस्थाअनुसार अद्यावधिक गर्न भनिएको छ।
प्रहरी प्रशासनका अनुसार अर्धमासिक तलब प्रणालीले कर्मचारीहरूको आर्थिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। यससँगै सरकारी निकायमा तलब वितरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य रहेको बताइएको छ।









